काठमाडौं । आईसीसी एकदिवसीय ब्याटिङ वरीयतामा भारतका विराट कोहली दोस्रो स्थानमा उक्लिएका छन् ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को पछिल्लो वरीयतामा दुई स्थान सुधार गर्दै कोहली दोस्रो स्थानमा आइपुगेका हुन् । भर्खरै दक्षिण अफ्रिकासँगको तीन खेलको एकदिवसीय शृङ्खलामा ३७ वर्षीय विराट कोहलीले दुई शतक र एक अर्धशतकसहित ३ सय २ रन बनाएका थिए ।
यो वरीयतामा भारतकै रोहित शर्मा शीर्ष स्थानमा यथावत् रहँदा न्युजिल्यान्डका ड्यारेल मिचेल तेस्रो स्थानमा झरेका छन् ।
यस्तै एकदिवसीय बलिङ वरीयतामा अफगानिस्तानका राशिद खान शीर्ष र इङ्ग्ल्यान्डका जोफ्रा आर्चर दोस्रो स्थानमा यथावत् रहँदा भारतका कुलदीप यादव तीन स्थान सुधार गर्दै तेस्रो स्थानमा आइपुगेका छन् ।
यस्तै एकदिवसीय अलराउन्डर वरीयतामा अफगानिस्तानका अजमतुल्लाह ओमरजाई शीर्ष, जिम्बावेका सिकन्दर राजा दोस्रो र अफगानिस्तानकै मोहम्मद नबी तेस्रो स्थानमा यथावत् छन् ।
एकदिवसीय वरीयतामा नेपालका कुनै पनि खेलाडीले सुधार गरेका छैनन् । टी–२० ब्याटिङ वरीयतामा भने नेपालका दीपेन्द्रसिंह ऐरी ७३औं, आसिफ शेख ७७औं, कुशल भुर्तेल ७८औं स्थानमा आइपुगेका छन् । तीन जनाले नै एक/एक स्थान सुधार गरेका हुन् ।
यस्तै टी–२० अलराउन्डर वरीयतामा शीर्ष १० भित्र रहेका दीपेन्द्र आठौं स्थानमा यथावत् छन् ।


प्रतिक्रिया