जेनजी प्रतिनिधि र सरकारबीच १० बुँदे सम्झौता

जेनजी प्रतिनिधि र सरकारबीच १० बुँदे सम्झौता

सम्झौतामा हस्ताक्षर लगत्तै जेनजीहरुबीच प्रधानमन्त्री कार्यालयमै झगडा



काठमाडौं । सरकार र जेनजी आन्दोलनकारीबीच १० बुँदे सम्झौतामा हस्ताक्षर गरेको छ ।

सम्झौतापत्रमा सरकारका तर्फबाट प्रधानमन्त्री सुशीला कार्की र जेनजीका तर्फबाट शहिद परिवारका सदस्य भोजविक्रम थापाले हस्ताक्षर गरे ।

प्रधानमन्त्री कार्कीले सरकार र जेनजीबीच भएको सम्झौता देशका लागि कोशेढुंगा भएको टिप्पणी गरेकी छन् । उनले यो सम्झौताले जेनजी आन्दोलनको उपलब्धिलाई संस्थागत गर्ने बताइन् ।

‘ऐतिहासिक रेकर्ड बन्यो, भोलि राजपत्रमा छापिन्छ । यो एउटा बलियो डकुमेन्ट छ । यसले भोलिको परिवर्तनलाई गाइड गर्छ र संविधान बनाउन पनि गाइड गर्छ,’ हस्ताक्षरपछि बोल्दै उनले भनिन् ।

प्रधानमन्त्री कार्कीले जेनजी अगुवा भनिएका सुधन गुरुङलाई आफ्नो जेठो छोरो भनेर सम्बोधन गरिन् । उनले भनिन्, ‘म तपाईँहरू सबैको आमा हुँ । आर्यघाट नपुग्दासम्म आमा नै रहनेछु । तपाईँहरू मेरो सन्तान हो । छोराछोरी हो । म अर्को पक्ष होइन ’ उनले भनिन् ।

सरकारसँग सम्झौता लगत्तै सिंहदरबारभित्र जेनजी प्रतिनिधिहरुबीच झगडा भएको छ । प्रधानमन्त्रीले सम्वोधन गरेर हिँडेपछि जेनजी युवायुवतीहरु आपसमा झगडा गरेका हुन् ।

प्रधानमन्त्रीको सम्वोधन पछि एक युवती राष्ट्रपतिसँग सम्झौता खोइ भएको भन्दै च्याठ्ठिएकी थिइन् । अर्का युवाले केही सिमित व्यक्तिहरुले आन्दोलनलाई हाइज्याक गरेर टालटुले सम्झौता गरेको आरोप लगाए । अन्य केही युवाले पनि सम्झौता नस्वीकार्ने बताएपछि तनाव उत्पन्न भएकाे हाे ।

संविधान पुनर्लेखन नगरेको र शासकीय स्वरुप नफेरेको भन्दै जेनजी मुभमेन्ट नेपालका अजय सोडारीले सम्झौता समेत च्यातेका छन् ।

शासकीय स्वरुप नफेरी चुनावमा जाने कुरा देशका लागि घातक हुने भनेर साथीहरुले सम्झौता च्यातेकाे जेनजी मुभमेन्ट नेपालका रवि किरण हमालले बताए ।