ओखलढुंगा। नेपाली कांग्रेस ओखलढुंगाले प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फका उम्मेदवारका लागि निर्वतमान सांसद तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडालाई सिफारिस गरेको छ। मंसिर २३ र २४ गते बसेको जिल्ला कार्यसमिति बैठकले सर्वसम्मतरूपमा खतिवडाको नाम सिफारिस गरेको हो। उनीसँगै प्रत्यक्षतर्फ अन्य पाँच जनाको नाम पनि सिफारिस गरिएको छ।
जिल्ला कार्यसमिति बैठकले प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष, समानुपातिक तथा राष्ट्रिय सभातर्फका उम्मेदवारहरू सिफारिस गरेको हो। प्रत्यक्षतर्फ खतिवडासहित बालकृष्ण दाहाल, खिलानाथ दाहाल, गोमा केसी, कुमार लुइटेल र रुद्र अधिकारीको नाम सिफारिस गरिएको छ।
यसबाहेक, प्रतिनिधिसभाको समानुपातिकतर्फ तीन जना महिला नेतृहरु बाला अधिकारी, सबिता राई र सङ्गीता तामाङको नाम सिफारिस गरिएको छ।
त्यसैगरी, राष्ट्रिय सभातर्फ पुरुषतर्फ जयबहादुर श्रेष्ठ, सिताराम श्रेष्ठ, चन्द्रबहादुर श्रेष्ठ र टिकराम कार्कीको नाम सिफारिस गरिएको छ भने महिलातर्फ हेमालक्ष्मी राई, मैया राई र निर्मला देवी रोका सिफारिसमा परेका छन्।
राष्ट्रिय सभाको दलिततर्फ मिनबहादुर विश्वकर्मा, युवराज गजमेर, सुन्तला अधिकारी परियार र चन्द्रबहादुर नेपालीको नाम सिफारिस गरिएको छ।
ओखलढुंगा कांग्रेसले उम्मेदवार बन्न आकांक्षा राख्ने सबैको नाम सिफारिस गरेको जनाएको छ। एक नेताले भने, “रहर गर्ने सबैको नाम सिफारिस भएको छ, तर वर्तमान परिस्थितिमा ओखलढुंगाबाट प्रत्यक्ष चुनाव लड्न सक्षम नेता रामहरि खतिवडा नै हुनुहुन्छ।”
बैठकले क्रियाशील सदस्यता नवीकरणको काम सम्पन्न गरी यसै मंसिर मसान्तभित्र केन्द्रीय समितिमा सिफारिस गर्ने, र नयाँ क्रियाशील सदस्यता वितरण कार्य पूरा गरी आगामी पुस ७ गतेभित्र केन्द्रीय समितिमा विवरण पठाउने निर्णय पनि गरेको छ।


प्रतिक्रिया