काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको मंसिर २४ गतेबाट काठमाडौंमा जारी रहेको केन्द्रीय कार्य समितिको वैठकमा विगतको समीक्षा र आगामी दिनका लागि कुनै रणनीति तथा कार्ययोजना अध्यक्ष राजेन्द्र लिङ्देनले प्रस्तुत नगरेको भन्दै बैठकमा नेतृत्वको आलोचना भयो ।
जेनजी विद्रोहपछि पार्टी भूमिकाहीन रहेको, राप्रपा शून्यतातर्फ बढेको, अध्यक्ष स्वयमले गुट संचालन गरेर पार्टीभित्र टुटफुट सिर्जना गरेको, कारबाहीमाथि कारबाही गरेर संगठन र उर्जा तहसनहस गरेको, राजसंस्थाको मुद्दामा इमान्दारी नदेखिएको र टीकटक बनाएर भाइरल हुने प्रवृत्ति नेतृत्वमा हाबी भएको भन्दै वैठकमा अधिकतम निराशा व्यक्त भयो भने अध्यक्ष लिङ्देनको कार्य असफलतालाई लिएर आलोचना गरियो ।
राप्रपाका नेताहरूले बताए अनुसार, केन्द्रीय कार्य समितिको चार वर्षको कार्यकाल मंसिर १८ गते सम्पन्न भइसकेको समयमा अध्यक्षले विगतको कुनै लेखाजोखा प्रस्तुत गरेनन् । राप्रपा आगामी दिनमा कसरी अगाडि बढ्छ भनेर कुनै योजना वा मार्गदिशा प्रस्तुत नगरेका कारण वैठकमा धेरै गुनासो र नेतृत्वप्रतिको अविश्वास खुला रूपमा प्रस्तुत भएको बताइन्छ ।
अध्यक्ष लिङ्देनले राप्रपा देशको पहिलो पार्टी बन्छ भनेर सार्वजनिक रूपमा भन्दै आए पनि, पहिलो पार्टी कसरी बन्छ, कहिले बन्छ भनेर ठोस रणनीति र कार्ययोजना पेश नगरेकोमा आलोचना गरियो ।
भदौ २३ गते रत्नपार्कको लाजमर्दो प्रदर्शनको जिम्मेवारी अध्यक्षले लिनुपर्ने भन्दै भूपू सैनिक संगठन अध्यक्ष प्रकाशजंग कार्कीलाई अरू भातृ संगठनका अध्यक्षसरह केन्द्रीय समिति वैठकमा किन नबोलाएको भनेर असन्तुष्टि र आलोचना वैठकमा प्रस्तुत भए ।
जिल्ला अधिवेशनको मिति चौथो पटक सारिएको छ, यसबाटै पार्टी चलेको छैन भन्ने प्रमाणित भएको नेताहरूको भनाइ छ । राप्रपाले चार वर्षे कार्यकाल सम्पन्न गरेको सन्दर्भमा नेतृत्वलाई सोधिएका प्रश्नका सार प्रस्तुत छ ।
१. पार्टीको मूल नीतिविपरीत गणतन्त्र सुदृढीकरण गर्न प्रचण्ड सरकारमा किन गएको ?
२. बोलीमा संघीयताको विरोध गर्ने तर, व्यवहारमा सभामुख, उपसभामुख खाने, संघीयतालाई बल दिने दोहोरो काम निरन्तर छ । प्रदेश खारेजीको प्रस्ताव प्रदेशसभामा कहिले पेश गरिएको छैन । राप्रपाको छवी बिगार्ने यी काम किन जारी राखेको ?
३. २०८० चैत्र २७ गते काठमाडौंमा एकदिने आन्दोलन गरेर आन्दोलन कमजोर बनाइयो । केन्द्रीय समितिको निर्णय अवज्ञा हुनेगरी, सबै राष्ट्रवादी मिलेको संयुक्त जनआन्दोलन समितिलाई असहयोग गरियो । वर्षासम्म धकेलेर आन्दोलन तुहाउने काम भयो । २०८२ जेठ १८ गते अध्यक्षको निर्देशनमा उपत्यका बन्द घोषणा गर्न लगाएपछि, बन्दमा सहभागी नहुने भन्दै राती ११ः४९ बजे एक्लै वक्तव्य दिने काम भयो । यसरी आन्दोलन धरापमा पार्ने काम पटक–पटक किन गरेको ?
४. राजा राष्ट्रप्रमुख रहने संसदीय व्यवस्था (राप्रपाको मूल आर्दश) प्रतिकूल देशलाई घातक हुने प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको विषय उठाउनुको मकसद के हो ? प्रष्ट पारियोस् ।
५. विधान मिचेर, फेसबुकबाट कारबाही गर्ने स्वेच्छाचारी प्रवृत्तिले आन्तरिक एकता र पार्टी प्रजातन्त्र कमजोर छ । सबै कारबाहीहरू फिर्ता गरेर, नेताहरूलाई यथास्थानमा राखी पार्टीमा एकताको वातावरण किन नबनाएको ?
६. चार वर्षको कार्यकालमा नवीन राप्रपा कार्ययोजना बाहेक अध्यक्षबाट एउटै पनि राजनीतिक कार्यक्रम पेश भएन । वार्षिक कार्यक्रम र योजनाप्रति कहिले गंभीरता देखाइएन । तर पनि अध्यक्षलाई काम गर्न दिइएन भनेर प्रायोजित हल्ला धेरै किन चलाएको ?
७. जेनजी विद्रोहपछि पार्टीले नेतृत्वदायी भूमिका लिन सकेन, पार्टी, एजेण्डा ओझेलमा पर्यो । पार्टी गुमनाम किन बन्यो बनाइयो ?
८. संसद र संविधानको औचित्य समाप्त भइसकेको भन्दै सामूहिक राजीनामा दिएर संसदबाट बाहिरिने निर्णय आयो । तर, सो निर्णय प्रदेशमा कार्यान्वयन गरिएन, गाडी सुविधा, लेबी बुझ्ने काम जारी रह्यो । पार्टीप्रतिको जनविश्वास घटाउने काम किन गरेको ?
९. तीन राप्रपा, अन्य दल र अभियानहरू एकजुट भएपछि महाधिवेशनको बलमा चुनावमा तुलनात्मक सुधार भयो । तर, त्यसपछिका तीनै तहका उपनिर्वाचनमा मत घट्यो । यसको सही चिरफार र समाधान खोज्ने प्रयास किन नगरिएको हो ?
१०. अध्यक्षले आन्दोलनको नेतृत्व लिएपछि २०८१ चैत्र २६ गते बल्खुमा आमसभा भयो, २०८२ वैशाख ७ गते सिंहदरबारभित्र गिरफ्तारी दिइयो । बिनासूचना मिडिया, प्रहरी एकैठाउँ पुगेर केही नेतालाई मात्रै हिरासतमा लिनु पछाडिको रणनीति के हो ?
११. एकता महाधिवेशनको उपलब्धि, सामूहिक नेतृत्वको विधान मिचेर एकल नेतृत्व, मनोमानी र विचलन किन जारी राखेको ?
१२. प्रदेश, स्थानीय तहमा योजनावद्ध अघि बढेको संगठन विभाग विघठन गरियो, त्यसपछि विभागको एउटै वैठक बसेन । अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रभावकारी भूमिकामा थियो, अध्यक्षले नेतृत्व लिएपछि एउटै वैठक बसेन । यसबाट कसलाई लाभ भयो ?
१३. पदाधिकारी, केन्द्रीय सदस्यहरूलाई भूमिकाविहीन राखियो । काम गर्ने नेताहरूलाई कारबाही गर्ने, आफू मात्र हुँ भन्ने अहमता प्रदर्शन नियमित बन्यो । विधानको व्यवस्थाअनुरूप ३२ विभागहरू गठन, संचालन गरिएन । यस्ता कमजोरी केका लागि हो ?
१४. अधिकांश भातृ संगठनहरूको अधिवेशन गरिएको छैन, ती चलायमान छैनन् । अधिवेशन गर्ने संगठनहरू भूमिकाविहीन छन् । यसो हुनुमा नेतृत्वको भनाइ के छ ?
१५. केन्द्रीय समितिको २०८१ माघ १३ गतेको निर्णयअनुरूप रवीन्द्र मिश्र समूह र ४० वर्ष मुनिका केन्द्रीय सदस्यहरूको नाम निर्वाचन आयोगमा अद्यावधिक किन नगरेको ?
१६. पार्टीमा उठेको लेवीबाट कतिपय जिल्लालाई सहयोग गर्ने निर्णय आजसम्म लागू भएको छैन । प्रदेश र जिल्लाका संगठन कस्तो छ, कार्यकर्ताको व्यावहारिक कठिनाइ के छ भनेर कहिले सुपरिवेक्षण किन नगरेको ?
१७. विधानको सीमा मिचेर केन्दीय समितिमा आफुखुशी पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरू थप्ने मनोमानी जारी छ । नीतिगत अन्योल, सैद्धान्तिक अस्पटता कायम छ । राप्रपा हामी मूलधार बाहिर मुकदर्शक बन्दा कसलाई फाइदा भयो ?
१८. संसदीय समिति विधानअनुकूल गठन र संचालन भएको छैन, विधानबमोजिम गठन किन नगर्ने ?
१९. चैत्र १५ को आन्दोलनमा पार्टीको नैतिक समर्थन थियो । पार्टीका नेताहरू गिरफ्तारीमा पर्दा पार्टी किन चुपचाप बस्यो ?
२०. पार्टीका संस्थापक नेताहरूलाई समेत मुछेर पार्टी फुटको प्रायोजित हौवा चलाइयो । अर्कोतर्फ पार्टी अध्यक्षले गुट चलाउने, गुटको भेला गर्ने कहीँ नभएको जात्रा यसै कार्यकालमा देखियो । पार्टी बिगार्ने यस्ता काम किन गरेको ?
२१. माघ ११, १२ र १३ गते सम्पन्न केन्द्रीय कार्य समिति वैठकमा अध्यक्षबाट राजनीतिक कार्यपत्र पेश भएन । तर, अध्यक्षको प्रतिवेदन पारित भयो भनेर प्रेस विज्ञप्ति जारी गरियो । ढाँट र छलले पार्टी बलियो हुन्छ र ?
२२. वैधानिक केन्द्रीय सदस्यलाई वैठकमा सहभागी हुन रोक लगाउने, टीपेक्स लगाएर नाम मेट्ने काम शोभनीय हुन्छ र ?
२३. अभिभावकको रूपमा सबैको कुरा सुन्छु, मिलाउँछु, एकता कायम गर्छु नभनेर नेतृत्वले पार्टी छाडेर जाउ किन भनेको ?
२४. केन्द्रीय कार्यालयमा बसेर आलोचकहरू सिद्धीन्छन्, मर्छन् भन्दै अपशब्द बोल्दा नेतृत्वको सम्मान बढ्यो कि जोगियो ?
२५. प्राणघातक रोगको उपचारमा रहेका नेतालाई अमानवीय रूपमा क्रुर कारबाही गर्नुमा नेतृत्वको मनसाय के हो ?


प्रतिक्रिया