भियतनाम । थाइल्यान्ड र भियतनामका लागि नेपाली राजदूत धनबहादुर ओलीले भियतनामी लगानीकर्तालाई नेपालमा लगानीको सम्भावना रहेको बताउँदै लगानी बढाउन आग्रह गरेका छन् ।
भियतनामको राजधानी हनोइमा नेपाल उद्योग वाणिज्य महासंघ र भियतनाम चेम्बर अफ कमर्स इन्डस्ट्रीसँगको छलफलका क्रममा राजदूत ओलीले नेपाल र भियतनामबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्ष पुगेको उल्लेख गर्दै दुवै देशले व्यापार र लगानी क्षेत्रमा सहकार्य गर्नुपर्नेमा जोड दिए ।
“पछिल्लो समय विश्वको अर्थतन्त्रमा नयाँ चुनौती देखिएको छ, यस्तो अवस्थामा दुवै देशले एकापसमा आर्थिक सहकार्य बढाउँदै लाभ लिनेतर्फ ध्यान दिनु जरुरी छ,” उनले भने, “नेपालमा निर्यातजन्य उद्योगमा लगानी गर्न म भियतनामी लगानीकर्तालाई आग्रह गर्दछु ।”
उनले दुवै देशबीच पर्यटनको क्षेत्रमा सम्भावना रहेकोसमेत उल्लेख गरे ।
नेपाल–भियतनाम सरकारबीचको आर्थिक सहकार्यमार्फत क्षेत्रीय तथा अन्तर्राष्ट्रियस्तरमा व्यापार गर्न सकिने पनि उनको भनाइ थियो । उनले नेपालमा उत्पादनमूलक उद्योग, आईसीटी, फार्मास्युटिकल्स तथा जडीबुटीलगायत क्षेत्रमा लगानीको सम्भावना रहेको बताए ।
उनले दुवै देशबीचको व्यापार तथा लगानीका लागि नेपाल सरकारले सहजीकरण गर्ने प्रतिबद्धता जनाए ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले भियतनामका लगानीकर्तासमक्ष नेपाल र भियतनामबीच थप आर्थिक सहकार्यलाई अगाडि बढाउनका लागि आग्रह गरे ।
दुई देशबीचको आर्थिक सहकार्यलाई थप बलियो बनाउनुपर्नेमा उनको जोड थियो । “दुई देशबीच आर्थिक सहकार्यका लागि म भियतनामी लगानीकर्तालाई आग्रह गर्छु, नेपालमा लगानीको ठूलो सम्भावना छ, यस अवसरलाई सदुपयोग गर्नका लागि हाम्रो प्रयास रहनेछ,” उनले भने ।
नेपालमा हस्तकला, चिया, कफी, जडीबुटी जस्ता उत्पादनको भियतनाममा राम्रो बजार सम्भावना रहेको उल्लेख गर्दै अध्यक्ष ढकालले त्यसतर्फ पनि लगानी बढाउन सकिने उल्लेख गरे ।
नेपालमा भियतनामको कृषि उत्पादन, सी फूड, इलेक्ट्रोनिक्सलगायतका उत्पादनको ठूलो बजार रहेको उनको भनाइ थियो । “नेपालमा प्रत्यक्ष विदेशी लगानीको वातावरण बन्दै गएको छ, कानून पनि लगानीमैत्री छन्, लाइसेन्स, भन्सार र कर प्रशासनलगायतका क्षेत्रमा सुधार भएको छ, सरकार पनि विदेशी लगानीको सुरक्षामा पनि सरकार सचेत छ,” उनले थपे ।
भियतनामी चेम्बर अफ कमर्सका उपकार्यकारी अध्यक्ष न्गुयेन क्याङ भिनले आफूहरू पनि नेपालसँग थप आर्थिक साझेदारीका लागि इच्छुक रहेको बताए ।
उनले दुई देशबीच लगानी र व्यापारका क्षेत्रमा ठूलो सम्भावना रहेको उल्लेख गर्दै आर्थिक साझेदारीलाई थप मजबुत बनाउनुपर्नेमा जोड दिए ।
“दुई देशबीच व्यापार र लगानीका क्षेत्रमा ठूलो सहकार्य छैन, यद्यपि यस क्षेत्रमा सहकार्यका लागि ठूलो सम्भावना छ, आगामी दिनमा पनि हाम्रो सहकार्य जारी रहनेछ,” उनको भनाइ थियो ।


प्रतिक्रिया