सरकारले जेनजीसँग गरेको सम्झौता कलाविहीन नाटक : ओली

सरकारले जेनजीसँग गरेको सम्झौता कलाविहीन नाटक : ओली

‘स्वच्छ प्रतिस्पर्धाबाट नेतृत्व चयन हुन्छ’



काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले हिजो जेनजी अगुवाहरूसँग गरेको सम्झौतालाई कलाविहीन नाटकको संज्ञा दिएका छन् । यो नाटकको हिजै पटाक्षेप भएको उनले टिप्पणी गरे ।

प्रेस चौतारी नेपालले बिहीबार काठमाडौँमा आयोजना गरेको सम्पादकहरूसँगको संवाद कार्यक्रममा बोल्दै ओलीले सरकारसँग यस्तो सम्झौता गर्न म्यान्डेट नै नरहेको बताए ।

उनले भने, ‘हिजोको एउटा कलाविहीन थियो । नाटकको पटाक्षेप कसरी भो त्यो दृश्य पनि सम्झना होला । जति कलाविहीनताका साथ नाटकको पर्दा उठेको थियो, त्यही कलाविहीनताका साथ पटाक्षेप भएको छ । त्यसमा धेर भन्नुपर्छ र ? यो सरकार कुनै त्यस्तो सम्झौता गर्नै सक्दैन । कहाँबाट म्यान्डेट पायो सरकारले ? कसैले भोट हालेर चुनेको सरकार हो ? गोबर लगाएर टाँसेको होइन ? त्यस्तो सरकारले पनि कोको बोलायो, कसलाई कागज थमायो, यो कागज लिएर आऊ भन्यो । रिहर्सलमा सिकाएको बोल्दै जाँदा केटाकेटीले बिगारे । सिकाएको पाठ बिग्रियो । गडबड भयो । त्यहीँ अस्वीकार भयो । उनीहरूले नै च्याते त्यो । हामीले त्यस्ता फजुल कागजहरूलाई कुनै मान्यता दिने भन्ने प्रश्नै हुँदैन । यो कलाविहीन भद्दा नाटक हो ।’

ओलीले वर्तमान सरकार नागपञ्चमीमा गोबर लगाएर टाँसिएको नागजस्तै भएको अर्को टिप्पणी गरे । उनले भने, ‘सरकारले फेद न टुप्पोको ताहुरमाहुर देखाइरहेको छ । नागपञ्चमीमा गोबर लगाएर टाँसे जसरी कसले ल्याएर टाँसेको सरकार हो यो ? यो नागको फोटो कसले टाँस्यो मैले थाहा पाएको छैन । खोज्दैछु ।’

त्यसैगरी अध्यक्ष ओलीले पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनमा करकापपूर्ण सहमतिको प्रयास नहुने बताए । उनले भरसक सहमतिबाटै नेतृत्व चयन गरिने जानकारी दिए । यद्यपि, सहमति हुन नसकेको खण्डमा करकाप नगरी स्वच्छ प्रतिस्पर्धाको माध्यमबाट नेतृत्व छानिने उनले स्पष्ट पारेका छन् ।

उनले प्रतिनिधिहरूले विश्वास गरेमा आफ्नो पार्टी अध्यक्ष पद निरन्तर रहने स्पष्ट गर्दै भने, ‘म थपिनेवालमा पर्दिन, निरन्तरतासम्म हुनसक्छ, प्रतिनिधिले पत्याएनन् भने मेरो पनि हट्ने सम्भावना हुन सक्छ। लोकतान्त्रिक पार्टीमा आग्रह, जिद्दी र हठले हुँदैन, त्यस कारण सहमतिमा जाँदा मैले छाड्ने सहमति भयो भने पनि म हट्ने स्थिति बन्न सक्छ, अथवा प्रतिनिधिले साथ नदिए, भोट नदिए हट्ने सम्भावना हुन सक्छ ।’

एमाले विरुद्ध करौँती जस्तो नीति बनाइएको भन्दै उनले सहमति हुँदा पनि लोकतान्त्रिक अभ्यासलाई रोकेर सहमति गराए भन्ने आरोप लाग्ने गरेको र मतदानमा जाँदा पनि भाँडभैलो भयो भन्ने आरोप लाग्ने गरेको गुनासो गरे । यस पटक दबाब दिएर मिलाउने योजना नभएको बताउँदै उनले स्वच्छ प्रतिस्पर्धा वा बिना करकाप नेतृत्व छानिने विश्वास व्यक्त गरे ।

केपी ओलीले छाडे सहमति हुन्छ भनेर पूर्वसर्त राख्नेहरूसँग आफ्नो सहमति नहुने ओलीले बताए । ‘म दबाबमा काम गर्ने मान्छे होइन, उहाँले बाहिर बाहिर उम्मेदवारी घोषणा गरेर हिँड्नु भएको छ, मसँग कुरा गर्नु पऱ्यो नि, मसँग त कुरा गर्नुभएको छैन,’ ओलीले भने ।