कुलमानले हितेन्द्रलाई भने : द्वन्द्व बढाउनेभन्दा पनि परिणाममुखी काम देखाउने गरी काम गर्न लाग्नुस्

कुलमानले हितेन्द्रलाई भने : द्वन्द्व बढाउनेभन्दा पनि परिणाममुखी काम देखाउने गरी काम गर्न लाग्नुस्



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङसँग भेट गरेका छन् ।

अदालतको आदेशपछि बुधबार प्राधिकरण फर्किएर पदबहाली गरेका शाक्यले बिहीबार आफ्ना तालुकदार मन्त्री घिसिङसँग भेट गरेका हुन् ।

शाक्यले अदालतको आदेश अनुसार बुधवारदेखि प्राधिकरणमा कार्यकारी निर्देशकको रूपमा हाजिर गरेको जानकारी ऊर्जा मन्त्री घिसिङ र ऊर्जा सचिव चिरञ्जीवी चटौतलाई गराएका छन् । शाक्यले उक्त विषयको जानकारी दिएसँगै ऊर्जा मन्त्री घिसिङले आफ्नो मुख्य ध्येय परिणाममुखी काम गर्ने भएकाले सोही अनुसार रिजल्ट आउने गरी काम गर्न निर्देशन दिएका छन् ।

स्रोतका अनुसार मन्त्री घिसिङले शाक्यलाई अदालतको आदेशले पुनर्बहाली भएको भनेर सबै काम आफूले मात्रै गर्ने भनेर नसोच्न र सबै सरोकारवालाहरूको गुनासोलाई समेत सम्बोधन गर्ने गरी काम गर्न निर्देशन दिएका छन् । मन्त्रीले शाक्यलाई प्राधिकरणमा आवश्यक सामानहरूको अभाव नहुने गरी काम गर्न पनि निर्देशन दिएका छन् ।

मन्त्रीको निर्देशनपछि शाक्यले विगतमा पनि मिलेर काम गरेको भन्दै आगामी दिनमा पनि पहिलेभन्दा बढी जोस र इमानदारिताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरेको स्रोतले बताएको छ । उनले नेपाल सरकारको नीति निर्देशन र प्राधिकरणको हितलाई सर्वोपरि ठानेर अघि बढ्ने पनि प्रतिबद्धता जनाएका छन् ।