जेनजीहरूले निषेधाज्ञा तोडेकाले गोली चल्यो : पूर्वमुख्यसचिव अर्याल

जेनजीहरूले निषेधाज्ञा तोडेकाले गोली चल्यो : पूर्वमुख्यसचिव अर्याल



काठमाडौं । निवर्तमान मुख्यसचिव एकनारायण अर्यालले भदौ २३ गते जेनजीहरूले नयाँ बानेश्वरस्थित एभरेष्ट होटल अगाडि राखिएको ब्यारिकेड तोडेर अघि बढेकाले गोली चलेको बताएका छन् ।

सर्वोच्च अदालतमा जवाफ पेश गर्दै उनले शान्तिपूर्ण रुपमा गर्ने भनिएको आन्दोलन निषेधाज्ञा तोडेर अघि बढेकाले ‘बल प्रयोग भएको’ जिकिर गरेका हुन् । उनले गोली प्रहारको घटनालाई सांकेतिक रुपमा बल प्रयोग भनेका छन् ।

जेनजी आन्दोलनका बेला सुरक्षा परिषदको सदस्यको हैसियतले जिम्मेवारी पुरा गर्न नसकेको भनी प्रश्न उठाई मुख्यसचिव अर्यालविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन परेको थियो । मुख्यसचिवको पदमा हुँदा नै अर्यालले सर्वोच्च अदालतमा लिखित जवाफ पठाएका थिए ।

उनले सांकेतिक रुपमा चार जना जेनजी प्रतिनिधिहरूलाई घटनाको जिम्मेवार भनेका छन् । अंकित मल्ल, हामी नेपालका सुधन गुरुङ, सवल गौतम र पुरुषोत्तम यादवले शान्तिपूर्ण रुपमा कार्यक्रम गर्न स्वीकृति लिएको, तर त्यसविपरित काम गरेको उनको दाबी छ ।

‘शान्तिपूर्वक भेला हुनुपर्नेमा सहभागीहरू एभरेष्ट होटलको पूर्वतर्फ जानै नहुनेमा अन्तराष्ट्रिय सम्मेलन केन्द्रतर्फ अगाडि गएको, कम्पाउण्डभित्र प्रवेश हुने अवस्था भएको,’ उनले लिखित जवाफमा भनेका छन्, ‘यसबाट शान्ति सुरक्षा, सरकारी सार्वजनिक सम्पत्तिको रक्षा तथा सुरक्षामा खटिएका सुरक्षाकर्मीको सुरक्षा, हतियारको रक्षा गर्नुपर्ने अवस्था आएको देखिन्छ ।’