काठमाडौं । राष्ट्रिय लिगको विजेताले ५० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले बिहिबार एक कार्यक्रमको आयोजना गरि आउँदो पुस २५ गतेदेखि सिङ्गल राउन्ड रोबिनका आधारमा शुरू हुने राष्ट्रिय लिगको पुरस्कार रकमबारे जानकारी दिएको हो ।
यस्तै प्रतियोगिताको उपविजेताले २५ लाख र तेस्रो हुने टोलीले १५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । एन्फाले राष्ट्रिय लिगमा सहभागी प्रत्येक क्लबलाई तयारी खर्च स्वरूप १८ लाख रुपैयाँ दिने भएको छ ।
साथै मकवानपुरको हेटौँडामा सम्पन्न भएको एन्फा प्रेसिडेन्ट लिगबाट राष्ट्रिय लिगमा छनोट भएका काठमाण्डौ उपत्यकाबाहिरका क्लबहरूलाई यातायात खर्च स्वरूप २ लाख र काठमाण्डौ उपत्यका क्लबलाई १ लाख रुपैयाँ प्रदान गरिनेछ ।
यस्तै क्लबहरूले खेलाडी दर्ता आउँदो पुस १८ गतेभित्र सम्पन्न गर्नुपर्ने र प्रतियोगिताको खेल तालिका पुस २० गते सार्वजनिक गर्ने सहमति पनि बैठकमा भएको छ ।


प्रतिक्रिया