मधेशमा सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन

मधेशमा सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन



जनकपुरधाम । मधेश प्रदेशमा सरकार विस्तारबारे छलफल गर्न बसेको सत्ता गठबन्धनको बैठक विना निष्कर्ष टुंगिएको छ । सत्ता गठबन्धनको बैठक शुक्रबार बिहान ११ बजे मधेश भवनमा डाकिएको थियो ।

मन्त्रालय भागबण्डा, सभामुख नियुक्ति लगायत प्रस्तावमा छलफल गर्ने तयारी स्वरूप बैठक डाकिएको थियो ।

तर जनता समाजवादी पार्टी (जसपा) नेपालका संसदीय दलका नेता सरोजकुमार यादव बाहिर रहेका कारण बैठकले ठोस निर्णय नगरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

सातदलीय गठबन्धनको समर्थनमा गत १९ मंसिरमा मुख्यमन्त्री नियुक्त भएका नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले २१ मंसिरमा पद तथा गोपनियताको सपथ लिएका थिए ।

उनले सोही दिन कांग्रेसबाट जंगीलाल राय, जनमतबाट संसदीय दलका नेता महेशप्रसाद यादव र नेकपा एकीकृत समाजवादीबाट कनिस पटेललाई मन्त्री नियुक्त गरेका थिए ।