एमाले महाधिवेशन : उदघाटनसत्रमा उपस्थितिका लागि सार्वजनिक अपिल

एमाले महाधिवेशन : उदघाटनसत्रमा उपस्थितिका लागि सार्वजनिक अपिल



भक्तपुर । नेकपा (एमाले) भक्तपुरले शनिबार भक्तपुरमा उद्घाटन हुने ११ औं राष्ट्रिय महाधिवेशनमा उपस्थितिको लागि सार्वजनिक अपिल गरेको छ ।

शनिबार भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको १ सय ८ रोपनी चौरमा भव्य समारोहका साथ उद्घाटन कार्यक्रममा सहभागिताको लागि एमालेले अपिल गरेको हो ।

पहिलो पटक भक्तपुरमा आयोजना हुन लागेको एमाले इतिहासकै महत्त्वपूर्ण महाधिवेशनका कारण जिल्लाभरि उत्साहजनक चहलपहल बढेको एमाले भक्तपुरका अध्यक्ष वचन देउजाले बताएका छन् ।

एमाले भक्तपुर जिल्ला कमिटीले आज सार्वजनिक अपिल जारी गर्दै जिल्लावासी, विभिन्न राजनीतिक दल, नागरिक समाज, पेशागत संगठन, युवायुवती तथा जेनजी पुस्तासमेतलाई उद्घाटन समारोहमा सहभागी भइ कार्यक्रम सफल बनाउन अनुरोध गरेको छ । जिल्ला कमिटीका अध्यक्ष देउजाले महाधिवेशनलाई ‘देश निर्माणको साझा अभियान’ का रूपमा सबैले साथ दिने विश्वास व्यक्त गरेका छन् ।

देशभरबाट लाखौँ प्रतिनिधि, कार्यकर्ता र शुभेच्छुक भक्तपुर आउने अपेक्षा भएकाले शनिबार भक्तपुर क्षेत्रका मुख्य मार्गमा सवारी चाप बढ्ने सम्भावना रहेको जिल्ला कमिटीले जनाएको छ ।