काठमाडौं । एमालेको ११ औं महाधिवेशनअन्तर्गत बन्द सत्र सुरू भएको छ । काठमाडौंको भृकुटीमण्डपमा आज अपराह्न सवा ३ बजेदेखि बन्द सत्र सुरू भएको हो ।
अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिसकेका छन् । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि आफ्नो अवधारणा पत्र पेस गर्ने तयारी गरेका छन् ।
ओलीले नेपाली राष्ट्रगानको पङ्क्ति लिँदै रोचक नारा लगाए । बन्द सत्रमा उपस्थित प्रतिनिधिलाई उठ्न लगाएर ओलीले भने- ‘सयौँ थुगा फूलका हामी एउटै माला एमाले ।’
बन्द सत्रअघि भृकुटीमण्डपमै केन्द्रीय कमिटी बैठक बसेको थियो । उक्त बैठकले पुरानै विधान ब्युँताउने निर्णय गरेको थियो ।
साथै अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा अध्यक्ष मण्डल गठन गरिएको छ । गत शुक्रबारको सचिवालय बैठकको निर्णय अनुसार नै यो गठन गरिएको हो ।
तर कतिपय नेताहरूले सचिवालयले आफैले आफैलाई निर्वाचन गर्ने गरी विधि अपनाएको भन्दै आलोचना गरेका छन् । अध्यक्ष मण्डलमा १८ जना सचिवालय, अनुशासन, लेखा र निर्वाचनलगायत आयोगका प्रतिनिधि रहनेछन् ।


प्रतिक्रिया