कांग्रेस ओखलढुङ्गाबाट रामहरिसहित २० जनाको नाम सिफारिस

कांग्रेस ओखलढुङ्गाबाट रामहरिसहित २० जनाको नाम सिफारिस



ओखलढुङ्गा । नेपाली कांग्रेस ओखलढुङ्गाले प्रतिनिधिसभा तथा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि २० जनाको नाम उम्मेदवारका रूपमा सिफारिस गरेको छ ।

जिल्ला कार्यसमिति बैठकले प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष र समानुपातिक तथा राष्ट्रियसभाका विभिन्न समूहका लागि उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको हो ।

आगामी फागुनमा हुने प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ निवर्तमान सांसद तथा कांग्रेस केन्द्रीय सदस्य रामहरि खतिवडा सहित छ जनाको नाम सिफारिस गरिएको छ ।

प्रत्यक्ष उम्मेदवारका रूपमा खतिवडासँगै बालकृष्ण दाहाल, खिलानाथ दाहाल, गोमा केसी, कुमार लुईँटेल र रुद्र अधिकारी सिफारिस भएका छन् ।

नेपाली कांग्रेस ओखलढुङ्गाका सह–सचिव भोजकुमार श्रेष्ठका अनुसार जिल्ला बैठकले सर्वसम्मत रूपमा नाम सिफारिस गरेको हो ।

यस्तै, प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ तीनजना महिला नेत्रीको नाम सिफारिस गरिएको छ । समानुपातिकतर्फ बाला अधिकारी, सबिता राई र सङ्गिता तामाङको नाम केन्द्रमा पठाइने भएको छ ।

राष्ट्रियसभा सदस्यका लागि पुरुषतर्फ जयबहादुर श्रेष्ठ, सिताराम श्रेष्ठ, चन्द्रबहादुर श्रेष्ठ र टिकाराम कार्की सिफारिस भएका छन् भने महिलातर्फ हेमालक्ष्मी राई, मैया राई र निर्मलादेवी रैकाको नाम सिफारिस गरिएको छ ।

त्यसैगरी, राष्ट्रियसभाको दलिततर्फ मिनबहादुर विश्वकर्मा, युवराज गजमेर, सुन्तला अधिकारी परियार र चन्द्रबहादुर नेपाली सिफारिस भएका छन् ।