साफ महिला क्लब च्याम्पियनशिपको उपाधिका लागि एपीएफ र इस्ट बङ्गाल खेल्ने

साफ महिला क्लब च्याम्पियनशिपको उपाधिका लागि एपीएफ र इस्ट बङ्गाल खेल्ने



काठमाडौं । साफ महिला क्लब च्याम्पियनशिपको उपाधिका लागि नेपालको लिग विजेता एपीएफ क्लब र भारतको लिग विजेता इस्ट बङ्गाल एफसी खेल्ने भएका छन् । लिग चरणका दुई खेल बाँकी छँदै एपीएफ र इस्ट बङ्गाल उपाधिका लागि खेल्ने भएका हुन् ।

काठमाडौंको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हिजो भएको पहिलो खेलमा एपीएफले पाकिस्तानको कराँची सिटी एफसीलाई १–० गोलले हरायो । यस्तै हिजै बेलुका भएको दोश्रो खेलमा इस्ट बङ्गालले बङ्गलादेशको नसरिन स्पोर्टस एकेडेमीलाई ७–० गोलले हरायो ।

लगातार ३ खेलमा अपराजित इस्ट बङ्गाल ९ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । समान खेलमा २ जीत र १ बराबरीसहित एपीएफ ७ अङ्क जोड्दै दोश्रो स्थानमा छ । एपीएफले पहिलो खेलमा बङ्गलादेशको नसरिन स्पोट्र्स एकेडेमीलाई ४–० गोलले हराएको थियो भने दोस्रो खेलमा भूटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो ।

एपीएफले लिग चरणको अन्तिम खेलमा इस्ट बङ्गाल एफसीसँग पर्सि बुधवार खेल्नेछ । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) ले पहिलो पटक आयोजना गरेको च्याम्पियनशिपमा ५ सदस्य राष्ट्रको लिग विजेता सहभागी छन् । सिङ्गल राउन्ड रोबिनपछि शीर्ष २ टोलीेले फाइनल खेल्नेछन् ।