एनआरएनए महाधिवेशन फागुन ११ देखि १३ सम्म हुने

एनआरएनए महाधिवेशन फागुन ११ देखि १३ सम्म हुने



काठमाडौं । हालै दुई समूहबिच एकीकरण भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आफ्नो १२औँ अन्तर्राष्ट्रिय महाधिवेशनको मिति र स्थान औपचारिक रूपमा तय गरेको छ । काठमाडौंमा हुने उक्त महाधिवेशन एकताको हुनेछ ।

एकतापछि गठित स्टेरिङ कमिटीको आइतबार बसेको दोस्रो बैठकले फागुन ११, १२ र १३ गते (सन् २०२६ फेब्रुअरी २३, २४ र २५) महाधिवेशन गर्ने निर्णय गरेको पूर्वअध्यक्ष तथा कमिटीका सदस्य आरके शर्माले जानकारी दिए ।

कमिटीले महाधिवेशनको तयारीलाई तीव्रता दिँदै मिति घोषणा गरेको हो ।

संघका महासचिवद्वय गौरीराज जोशी र बी.आर. लामाले जारी गरेको विज्ञप्ति अनुसार राष्ट्रिय समन्वय समिति (एनसीसी) हरू बिचको एकतालाई निष्कर्षमा पुर्‍याउन बैठकले गंगाधर गौतमको संयोजकत्वमा पाँच सदस्यीय ‘एनसीसी युनिटी फ्यासिलिटेसन कमिटी’ गठन गरिएको छ । उक्त समितिको सह-संयोजकमा टीका गुरुङ (राधिका) रहेकी छिन् भने सदस्यहरूमा नारायण काफ्ले, शनि ओली र चिरञ्जीवी खड्का रहेका छन् ।

संघले बृहत् एकताको सन्देश विश्वभरका नेपालीमाझ पुर्‍याउन क्षेत्रीय स्तरमा अन्तरक्रिया तथा संवाद कार्यक्रमहरूको तालिका पनि सार्वजनिक गरेको छ ।