काठमाडौं । नेकपा (एमाले) का सचिव योगेश भट्टराईले ईतर पक्षबाट प्यानल नबन्ने बताएका छन् ।
११ औं महाधिवेशनमा उपमहासचिव पदका उम्मेदवार भट्टराईले भृकुटीमण्डपमा पत्रकारहरूसँग बोल्दै आफ्नो पक्षबाट सबैले व्यक्तिगत रूपमा उम्मेदवारी दर्ता गर्ने बताएका हुन् ।
‘उम्मेदवारी सबैले दिनुहुन्छ । प्यानलगत रूपमा उम्मेदवारी नदिनू व्यक्तिगत रूपमा दिनू भनेका छन् । त्यही गर्छौं,’ उनले भने ।
उनले पार्टी सचिवालयको निर्णयविपरीत विधान संशोधन हुनु दुभाग्यपूर्ण रहेको टिप्पणी गरे । विधान संशोधन औचित्यपूर्ण नभए पनि हलले स्वीकारेपछि आफूहरू निर्वाचन प्रक्रियामा जान तयार भएको भट्टराईको भनाइ छ ।
उनले महाधिवेशनबाट नयाँ टिमले नेतृत्व गर्ने र त्यसको माध्यमबाट आगामी निर्वचनमा एमाले जनताबाट अनुमोदित हुँदै सरकारमा आउने बताए ।
उनले निर्वाचन हुँदैमा पार्टीको एकता नभाँडिने पनि बताए ।
‘पार्टी एक छ । निर्वाचन प्रक्रियाले पार्टी अनेक बनाउँदैन । अझै स्वच्छ मर्यादित निर्वाचन प्रक्रियाले त पार्टीलाई सुदृढ र एकताबद्ध बनाउँछ,’ उनले भने, ‘बरू निर्वाचनमा अस्वस्थ गतिविधि नहोस् भनेर हामी सचेत छौं। निर्वाचनले पार्टी बिग्रँदैन। अझै राम्रो हुन्छ ।’


प्रतिक्रिया