ईश्वर टिमको पदाधिकारी सूचीमा वैजनाथ चौधरी र पुरुषोत्तम पौडेलकाे इन्ट्री

ईश्वर टिमको पदाधिकारी सूचीमा वैजनाथ चौधरी र पुरुषोत्तम पौडेलकाे इन्ट्री



काठमाडौं । नेकपा (एमाले)को ११औं महाधिवेशनमा अध्यक्ष पदको उमेदवार बन्न लागेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल टिमको पदाधिकारी सूचीमा वैजनाथ चौधरी र पुरुषोत्तम पौडेललाई भित्र्याइएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा पार्टी निर्वाचन प्रक्रिया जारी छ । यो समूहबाट ईश्वर पोखरेल अध्यक्षको उमेदवार बन्नेछन् ।

पोखरेल समूहबाट उपाध्यक्षको उमेदवारमा गोकर्ण विष्ट, परशुराममेघी गुरुङ, विन्दा पाण्डे, अरुण नेपालको नाम तय गरिएको छ । एकजना टुंग्याउन बाँकी रहेको पोखरेलनिकट नेताले बताएका छन् ।

महासचिवमा सुरेन्द्र पाण्डेको नाम ‘फाइनल’ गरिएको छ ।

यस्तै, उपमहासचिवमा योगेश भट्टराई र वैजनाथ चौधरीको नाम टुंग्याइएको छ । यो पदमा एकजनाको नामबारे छलफल जारी छ ।

पोखरेल समूहबाट सचिवका उमेदवारमा रचना खड्का, कर्ण थापा, गोकुल बास्कोटा, विनोद ढकाल, कृष्णगोपाल श्रेष्ठ, ठाकुर गैरे, इन्द्रलाल सापकोटा र पुरुषोत्तम पौडेलको नाम टुंगो लगाइएको नेताहरूले बताएका छन् ।