बार्षिक ३० लाख पर्यटक ल्याउन सकिन्छ : सूर्य थपलिया

बार्षिक ३० लाख पर्यटक ल्याउन सकिन्छ : सूर्य थपलिया



काठमाडौं । नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले वार्षिक ३० लाख पर्यटक भित्राउन सम्भव रहेको बताएका छन् ।

नेपालमञ्चको तेस्रो वार्षिकोत्सवका अवसरमा पर्यटकीय नगरी पोखरामा आयोजित कार्यक्रममा थपलियाले निजी क्षेत्र र सरकारबीच सहकार्य भए ३० लाख पर्यटक ल्याउन असम्भव नहुने बताए ।

उनले जेनजी आन्दोलनले पर्यटन क्षेत्र धराशयी हुन्छ भन्ने चिन्ता भएपनि त्यसको असर खासै नदेखिएको दावी गरे ।

उनले भने, ‘जेनजी आन्दोलनले देश जलिरहेका बेला पर्यटन क्षेत्र के होला भन्ने चिन्ता हामी सबैमा थियो, तर बोर्डको कुरा हेर्दा तत्कालै सामाजिक सञ्जालमा हामी सक्रिय भयौं । निजी क्षेत्र र सञ्चार क्षेत्रले सघायो । आन्दोलनमा इमेजको हिसाबले खर्बौको क्षति भयो । तर एक हप्ताभित्रै पर्यटन क्षेत्रलाई लयमा फर्कायौं ।’

उनले कोभिडमा पनि लामो समय पर्यटन क्षेत्रमा असर परेको उल्लेख गर्दै अहिले भने त्यसको तुलनामा एक हप्तामै लयमा फर्काउन सफल भएको बताए ।

‘सबैको सहयोगले १२ लाख पर्यटक भित्र्याउने अवस्थामा छ । १२ लाख पर्यटक स्वागत गर्यौं । क्राइसिसबाट नेपालको पर्यटन माथि निस्केको छ । सहकार्यमा राम्रो काम गरेको छ,’ उनले भने, पर्यटन बोर्डले मात्र केही गर्न सक्दैन । लगानीमा जुन खालको अफ्ठेरो सिर्जना भएको छ त्यसलाई हेर्नुपर्यो । सरकारले बलियो कार्यक्रम ल्याउनुपर्यो । २०२६ मा फड्को मार्ने हो भने निजी क्षेत्रलाई हेर्नुपर्छ । बोर्डले आफ्नो तर्फबाट काम गर्छ । इमेज डेकोरेट गर्ने काम भइरहेको छ । छवि बनाउने काम बोर्डले गरिरहेको छ । हस्पिटालिटी र संस्कृतिले नेपाली पर्यटन टिकेको छ । जेनजी आन्दोलनमा निलो कलरको बसलाई जान दिएको छ । यो हाम्रो कल्चर हो ।’

लगानी र लगानीको फिर्ता सुनिश्चितता राज्यले गर्नुपर्ने बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाको भनाई छ ।

‘वितरणमुखी र कल्याणकारी राज्य भए पर्यटन बलियो बन्छ । पर्यटनमा युवालाई जोड्न स्कुल लेभल पढ्दैदेखि संस्थागत गर्नुपर्छ । देश चिनाउनुपर्छ । अनि त्यहाँ टुरिजम जोडिन्छ । पर्यटन सुरक्षित छ । युवालाई टुर गाइड ट्रेनिङ हस्पटालिटी तालिम गराइरहेको छ,’ उनले भने, ‘वर्षको ३५ देखि ४० लाख पर्यटनलाई सेवा दिन सक्ने पूर्वाधार छ । तर एभियसन अड्चन छन् । सीमापार देशका पर्यटक ल्याउन सकिएको छैन । सीमाको मुद्दा छ । भन्सारमा दुख छ । ५० वटा कानुन छ । छिर्नै सक्दैन । धेरै इस्युहरु छन् । सिस्टममै समस्या छ । ट्रेकिङ रुटहरु घटेका छन् । डाँडा डाँडामा सडक बस्ती पुर्याउँदा मासियो । पर्यटक घटे । ३० देखि ३५ लाख भित्रेयाउन सकिन्छ । कम्तिमा १५/२० लाख पुर्याउन त । यति त सकिन्छ । २०२६ को एलडिजी ग्राजुयसपछि जाने हो बोल्ड निर्णय लिन जरुरी छ ।’