काठमाडौं । एसीसी १९ वर्षमुनिको एशिया कप क्रिकेटमा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ । आज भएको खेलमा नेपाल बंगलादेशसँग ७ विकेटले पराजित भयो ।
नेपालले दिएको १ सय ३१ रनको लक्ष्य बङ्गलादेशले २४ ओभर ५ बलमा ३ विकेट गुमाएर भेटायो । बंगलादेशका जावाद अबरारले नटआउट ७० रन बनाए । नेपालका अभिषक तिवारी र युवराज खत्रीले १/१ विकेट लिए ।
यसअघि संयुक्त अरब इमिरेट्स (यूएई) को सेभेन्स स्टेडियममा टस हारेर ब्याटिङ गरेको नेपालले ३१ ओभर १ बलमा १ सय ३० रन बनाउँदा सबै विकेट गुमायो ।
नेपालका अभिषेक तिवारीले सबैभन्दा धेरै ३० रन बनाए । यस्तै आशिष लुहारले २३, शाहिल पटेलले १८, निरकुमारले १४ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । बंगलादेशका एमडी सबुजले ३ विकेट लिए ।
नेपाल पहिलो खेलमा श्रीलङ्कासँग ८ विकेटले पराजित भएको थियो । अब नेपालले लिग चरणको तेस्रो तथा अन्तिम खेलमा पर्सि अफगानिस्तानसँग खेल्नेछ ।


प्रतिक्रिया