धुलिखेल । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्ने गरी अगाडि बढ्नुपर्ने बताएका छन् ।
काभ्रेपलाञ्चोकको बनेपामा सोमबार आयोजित उज्यालो नेपाल पार्टीको जिल्ला भेलामा उनले वैकल्पिक शक्ति बन्ने भनेर आएका सबै मिलेर अगाडि बढ्नुपर्ने र त्यसको अगुवाई उज्यालो नेपाल पार्टीले गर्नुपर्ने बताए ।
मन्त्री घिसिङले पार्टीमा सबैलाई जोड्दै अगाडि बढ्नसमेत नेतृत्वलाई आग्रह गर्दै काम गर्दा चुनौती आउने र त्यसलाई सामना गरेर अगाडि बढ्न सकेमा नै परिवर्तन सम्भव हुने बताए ।
“जेनजी पुस्ताको आन्दोलनपछि जुन हिसाबले यो सरकार परिवर्तन भएको छ, यसले गर्ने निर्वाचन पछिको सरकार कस्तो हुने भन्ने कुरा झन् महत्त्वपूर्ण छ”, उनले भने, “त्यो सरकारको नेतृत्व वैकल्पिक शक्ति भन्नेहरू सबै मिलेर गर्नुपर्छ । उज्यालो नेपाल पार्टीले त्यसको अगुवाइ गर्छ ।”
केन्द्रीय सदस्य रिमा विश्वकर्माले दक्ष र योग्य व्यक्तिलाई जिम्मेवारी दिएर देश बनाउन लाग्नुपर्ने बताइन् । आफ्नो पेसा र धर्म कलाकारिता भए पनि इमान्दार र लगनशील भएर धर्म पछ्याइरहँदा पनि परिवर्तनका लागि कलिला भाइबहिनीले राजनीतिक जागरणको बीउ रोपेकाले आफू पनि राजनीतिमा होमिएको उनको भनाइ थियो ।
उज्यालो नेपाल पार्टीको जिल्ला भेलाले क्षितिज लामाको संयोजकत्वमा जिल्ला समिति गठन गरेको छ । त्यस्तै युवा हेर्ने कमिटीको संयोजकमा निशान्त रत्न बास्ताकोटी र सहसंयोजकमा अविरल लामालाई जिम्मा दिएको र समितिलाई पछि पूर्णताः दिइने पार्टीका केन्द्रीय सदस्य जितराम लामाले बताए ।


प्रतिक्रिया