काठमाडौं । नेकपा (एमाले) को जारी ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज नेतृत्व चयनका लागि मतदान हुँदैछ । केन्द्रीय निर्वाचन आयोगका अनुसार मतदान बन्दसत्र स्थल भृकुटीमण्डपमा दिउँसो १ बजेदेखि साँझ ७ बजेसम्म हुने छ ।
अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् । आयोगले सोमबार अबेर सार्वजनिक गरेको उम्मेदवारको प्रारम्भिक नामावलीअनुसार अध्यक्ष पदमा यी दुईबिच प्रतिस्पर्धा हुने भएको हो ।
महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिँदै छ । आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार ल्याइएका १०० वटा मेसिनमध्ये ८० वटा मतदानका लागि प्रयोग हुनेछन् । बाँकी १० वटा अभ्यासका लागि र १० वटा अतिरिक्त मेसिनको रूपमा राखिएको छ ।
एक जना मतदाताले मतदान गर्न करिब २५ देखि ३० मिनेट समय लाग्ने अनुमान गरिएको छ ।
१९ पदाधिकारीमा ४२ जनाले उमेदवारी दर्ता
महाधिवेशनको निर्वाचन कार्यक्रमअन्तर्गत सोमबार प्रकाशित उमेदवारको प्रारम्भिक नामावलीअनुसार, १९ पदाधिकारीमा ४२ जनाले उमेदवारी दर्ता गराएका छन् ।
केन्द्रीय निर्वाचन आयोगका अनुसार, पाँचजनाको उपाध्यक्षमा ११ जनाले उमेदवारी दर्ता गराएका छन् । उपाध्यक्षमा अरुण नेपाल, गुरुप्रसाद बराल, गोकर्णराज विष्ट, टंकप्रसाद कार्की, परशुराम मेघी गुरुङ, पृथ्वीसुब्बा गुरुङ, भीमप्रसाद आचार्य, रघुजी पन्त, रामबहादुर थापा, डा. बिन्दा पाण्डे, विष्णुप्रसाद पौडेलको उमेदवारी छ ।
महासचिवमा शंकर पोखरेल र सुरेन्द्रप्रसाद पाण्डे उमेदवार छन् ।
उपमहासचिव तीनजनामा सातजनाको उमदेवारी परेको छ । आनन्दप्रसाद पोखरेल, योगेश भट्टराई, रघुवीर महासेठ, राजेन्द्रप्रसाद गौतम, लेखराज भट्ट, विष्णुप्रसाद रिमाल र वैजनाथ चौधरीले उपमहासचिवमा उमेदवारी दिएका छन् ।
त्यस्तै, सचिवमा अग्निप्रसाद खरेल, इन्द्रलाल सापकोटा, कर्णबहादुर थापा, कृष्णगोपाल श्रेष्ठ, खगराज अधिकारी, गोकुलप्रसाद बास्कोटा, छविलाल विश्वकर्मा, ठाकुरप्रसाद गैरे, पद्माकुमारी अर्याल, पुरुषोत्तम पौडेल, पेम्बा लामा, भानुभक्त ढकाल, महेश बस्नेत, यामलाल कँडेल, रचना खड्का, राजन भट्टराई, लालबाबु पण्डित, विनोदप्रसाद ढकाल, शेरधन राई, हिक्मतकुमार कार्कीको उमेदवारी परेको छ । सचिव नौजनामा २० जनाको उमेदवारी परेको हो ।


प्रतिक्रिया