काठमाडौं । नेकपा (एमाले) को जारी ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियामा ११ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन् । निर्वाचन आयोगले सोमबार राति सार्वजनिक गरेको उम्मेदवारको प्रारम्भिक नामावलीअनुसार विभिन्न समूहमा एकल उम्मेदवारी परेपछि उनीहरू निर्विरोध निर्वाचित भएका हुन् ।
लुम्बिनी प्रदेशबाट महिलातर्फ गुमादेवी आचार्य, मेनकाकुमारी पोखरेल र शान्तीदेवी ढकाल निर्विरोध निर्वाचित भएका छन् । प्रदेशबाट महिला केन्द्रीय सदस्यमा तीन जना निर्वाचित हुने व्यवस्था अनुसार तीनै जनाको मात्र उम्मेदवारी परेकाले उनीहरू निर्विरोध भएका हुन् ।
यस्तै मधेशी क्लस्टरतर्फ युवामा अमरकुमार यादव निर्विरोध निर्वाचित भएका छन् ।
समावेशी समूहअन्तर्गत मुस्लिम महिलातर्फ खाजिदा खातुन सिद्धकी, श्रमिक महिलातर्फ कमलादेवी श्रेष्ठ र सिता लामा निर्विरोध निर्वाचित भएका छन् । पिछडिएको क्षेत्र महिलातर्फ वदमीक्वारी बुढा, प्रवास दक्षिण एशियाबाट हरिप्रसाद घिमिरे तथा ४० वर्षमुनिको युवा केन्द्रीय सदस्यतर्फ नरेश रोकाया र सुशिलकुमार थापा पनि निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै पार्टीको अनुशासन आयोगको अध्यक्षमा प्रा. डा. भरतराज पहारी, उपाध्यक्षमा चक्रबहादुर पराजुली र सचिवमा डा. राजेन्द्र घिमिरेको एकल उम्मेदवारी परेपछि उनीहरू निर्विरोध निर्वाचित हुँदा २२ जना सदस्यमा भने ३२ जनाको उम्मेदवारी परेको । लेखा आयोगको अध्यक्षमा डा. पुष्पराज कँडेल, उपाध्यक्षमा धनेन्द्रराज घिमिरे र सचिवमा ईश्वरीप्रसाद खरेल पनि निर्विरोध भएका छन् । यद्यपि, निर्वाचन आयोगले उनीहरूको औपचारिक घोषणा गर्न भने बाँकी रहेको जनाएको छ ।


प्रतिक्रिया