आइपीएलको १९औं संस्करण आगामी २६ मार्चदेखि सुरु हुने

आइपीएलको १९औं संस्करण आगामी २६ मार्चदेखि सुरु हुने



काठमाडौं । विश्वकै सबैभन्दा लोकप्रिय र महँगो फ्रेन्चाइज क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आइपीएल) को १९औं संस्करण आगामी २६ मार्चदेखि सुरु हुने भएको छ ।

प्रतियोगिता ३१ मेसम्म चल्नेछ । सोमबार राति क्रिकबजले प्रकाशित गरेको रिपोर्टअनुसार बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बीसीसीआई)ले फ्रेन्चाइज टोलीहरूलाई यस समयतालिकाबारे जानकारी गराइसकेको छ ।

२६ मार्चमा सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) मैदानमा उत्रनेछ । तर, आरसीबीले आफ्नो घरेलु मैदान एम चिन्नास्वामी स्टेडियममा खेल्न पाउने नपाउने अझै निश्चित छैन ।

यसैबीच, बीसीसीआईले सोमबार राति २०२६ आइपीएल अक्सनको अघिल्लो दिन खेलाडी सूचीमा अन्तिम समयमा थप १९ खेलाडी समावेश गर्दै प्लेअर पुल अन्तिम रूप दिएको छ । नयाँ समावेश गरिएका खेलाडीहरूमा बंगालका ओपनर अभिमन्यु ईश्वरन, न्युजिल्यान्डका बेन सियर्स र दक्षिण अफ्रिकाका इथान बोश रहेका छन् ।

मंगलबार अबुधाबीको इत्तिहाद एरेनामा हुने आईपीएल २०२६ अक्सनलाई लिएर क्यामरन ग्रिन, लियाम लिभिङस्टोन र रवि बिश्नोईप्रति विशेष चासो रहनेछ ।