काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मंगलबार साँझ ७ बजेदेखि निर्वाचन हुने भएको छ ।
केन्द्रीय निर्वाचन आयोगले दिएको जानकारी अनुसार साँझ ७ बजेदेखि राति १ बजेसम्म मतदान हुनेछ । अध्यक्षमा केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल भिड्दै छन् ।
उनीहरू प्यानलै बनाएर भिड्न लागेका हुन् ।
केन्द्रीय निर्वाचन आयोगले उम्मेदवारहरूको सूची पुन: प्रकाशन गरेको छ । यसअघि निकालिएको सूचीमा प्राविधिक त्रुटि देखिएपछि आयोगले पुन: मंगलबार उम्मेदवारहरूको सूची प्रकाशन गरेको हो ।
मतदानका लागि भृकुटीमण्डपमा बनाइएको निर्वाचन केन्द्रमा विद्युतीय मेसिन जडान गरेर बुथ तयार गरिसकिएको छ ।
महाधिवेशनमा १०० वटा मेसिन ल्याइएको भएपनि ८० वटा मेसिन प्रयोग गर्नेगरी तयारी भएको एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले बताए ।
रामलक्ष्मण इनोभेसन प्रालिका सञ्चालक लक्ष्मण रिमालले १० वटा नमूना अभ्यास र १० वटा अतिरिक्त मेसिन राखिएको बताए ।
एमाले केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. सुब्बाका अनुसार एक जना मतदातालाई मतदान गर्न कम्तीमा २५ देखि ३० मिनेट लाग्ने अनुमान छ । कुल २ हजार २६३ प्रतिनिधि निर्वाचनमा सहभागी हुँदैछन् ।


प्रतिक्रिया