काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट सन् २०२६ को मिनी अक्सन हिजो यूएईको अबुधाबीमा सम्पन्न भएको छ । अक्सनमा एक सय ५६ खेलाडीमाथि बोली लगाइएको छ ।
१० टोलीले कूल दुई अर्ब १५ करोड ४५ लाख भारतीय रुपैयाँ अर्थात ३ अर्ब ४४ करोड ७२ लाख रुपैयाँ खर्च गर्दै ७७ खेलाडी अनुबन्ध गरेका छन् । तीमध्ये २९ विदेशी र ४८ भारतीय खेलाडी छन् ।
आईपीएल २०२६ को शुरूआत मार्च २६ देखि हुनेछ । अस्ट्रेलियाली अलराउन्डर क्यामरन ग्रीन आईपीएल इतिहासकै सबैभन्दा महँगो विदेशी खेलाडी बनेका छन् । उनलाई कोलकाता नाइट राइडर्सले २५ करोड २० लाख भारतीय रुपैयाँमा अनुबन्ध गर्याे ।
यससँगै ग्रीनले आफ्नै देशका मिचेल स्टार्कको रेकर्ड तोडेका छन् । उनलाई २०२४ मा त्यही टोलीले २४ करोड ७५ लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको थियो ।
आईपीएल इतिहासका सबैभन्दा महँगो खेलाडीको सूचीमा ऋषभ पन्त २७ करोड भारतीय रुपैयाँ सहित पहिलो र श्रेयस अय्यर २६ करोड ७५ लाख भारुसहित दोस्रो स्थानमा छन् । यद्यपि, कोलकाताले ग्रीनलाई २५ करोड २० लाख भारुमा अनुबन्ध गरेको थियो ।
तर, विदेशी खेलाडीका लागि तोकिएको तलब सीमा अनुसार ग्रीनले व्यक्तिगत रूपमा १८ करोड मात्र पाउनेछन् । बाँकी ७ करोड २० लाख बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बीसीसीआई) को ‘प्लेअर वेलफेयर कोष’ मा जानेछ ।
बीसीसीआईले गएको वर्षदेखि मिनी अक्सनमा विदेशी खेलाडीका लागि १८ करोड भारुको माथिल्लो सीमा तोकेको हो ।


प्रतिक्रिया