काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि अहिले मतदान चलिरहेको छ ।
अध्यक्षका प्रतिस्पर्धी केपी शर्मा ओली र ईश्वर पोखरेल तथा महासचिव पदका उम्मेद्वार शंकर पोखरेलले मत खसालिसकेका छन् । काठमाडौंको भृकुटीमण्डपमा बिहान साढे ९ बजेदेखि मतदान शुरू भएको हो ।
मतदान विद्युतीय भोटिङ मेसिनमार्फत् भइरहेको छ ।
आज बिहान ८ बजेदेखि शुरू हुने भनिएको मतदान डेढ घण्टा ढिलो गरी शुरू भएको हो । मतदानका लागि प्रतिनिधि लाइनमा छन् ।
यसअघि हिजो बेलुका नै मतदान गर्ने कार्यतालिका रहे पनि प्राविधिक समस्याका कारण आजका लागि सारिएको थियो । देशभरबाट आएका २ हजार २ सय ६३ जना प्रतिनिधिले अध्यक्षदेखि केन्द्रीय सदस्यसम्मका पदका लागि मत खसाल्नेछन् ।
ओली र पोखरेल प्यानल बनाएर प्रतिस्पर्धामा छन् । दुवै पक्षका समर्थक आफ्नो प्यानललाई जिताउन लागिपरेका छन् । मतदानको लागि ८० वटा विद्युतीय मेसिन राखिएको छ ।
मेसिनको प्रयोगले मतदान प्रक्रिया छिटो हुने अपेक्षा गरिए पनि उम्मेद्वारको लामो सूचीका कारण एक जनाले मत खसाल्न आधा घण्टा भन्दा धेरै समय लाग्ने अनुमान छ । मतदान सकिएलगत्तै मतगणना शुरु हुनेछ ।


प्रतिक्रिया