काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी ओलीले पार्टी नेतृत्वमाथि हाल हाले देश ठप्प पार्ने चेतावनी दिएका छन् ।
बिहिबार तेस्रो कार्यकालका लागि अध्यक्ष पदको शपथग्रहण गरे लगत्तै सम्बोधन गर्दै पार्टीका नेता कार्यकर्तालाई आन्दोलनको तयारीमा रहन निर्देशन दिए ।
उनले भने, ‘एमाले नेतृत्वमाथि भौतिक अनेक प्रकारको जालझेल भए, भौतिक आक्रमणको प्रयास, जाली झूटा मुद्दा लगाउने हल्ला मच्चाइएको छ । म भन्न चाहन्छु, एमाले नेतृत्वलाई छोएको दिन देश ठप्प हुनुपर्छ । यो सरकार ढाल्नुपर्छ ।’ एमालेलाई छुने र जिस्काउने काम नगर्न चेतावनी दिए ।
अध्यक्ष ओलीले सरकार र जेनजीबीच भएको सम्झौता अवैधानिक रहेको दोहोर्याए । उनले यो सम्झौता एमालेले कार्यान्वयन हुनै नदिने भन्दै यो सम्झौता कलाविहीन भद्दा नाटक भएको टिप्पणी गरे ।
ओलीले भने, ‘यो सरकारसँग संविधानलाई चलाउने कुनै अधिकार छैन । सरकार र जेनजीबीचको सम्झौता लागू हुन सक्दैन । एमालेले लागू हुन दिँदैन । कि चुनावको तयारी गर, नत्र बाटो लाग्दा हुन्छ ।’


प्रतिक्रिया