प्रतिकूल परिवेशमा सम्पन्न महाधिवेशनको राजनीतिक सन्देश भने सकारात्मक : योगेश भट्टराई

प्रतिकूल परिवेशमा सम्पन्न महाधिवेशनको राजनीतिक सन्देश भने सकारात्मक : योगेश भट्टराई



काठमाडौं । नवनिर्वाचित एमाले उपमहासचिव योगेश भट्टराईले पार्टीको ११ औँ महाधिवेशनको आन्तरिक तयारी, व्यवस्थापन र सन्देशबारे समीक्षा हुने बताएका छन् । शुक्रबार सामाजिक सञ्जालमा अध्यक्ष केपी शर्मा ओलीको तस्वीर शेयर गर्दै भट्टराईले महाधिवेशनको राजनीतिक सन्देश भने सकारात्मक रहेको उल्लेख गरेका छन् ।

‘नेकपा एमालेको ११ औँ महाधिवेशन सम्पन्न भएको छ । यसको आन्तरिक तयारी, व्यवस्थापन र संदेशका बारेमा समीक्षा हुने नै छ’, योगेशले लेखेका छन्, ‘भदाै २३ र २४ को घटनापछिको प्रतिकूल परिवेशमा सम्पन्न यो महाधिवेशनको राजनीतिक सन्देश भने सकारात्मक रहेको छ ।’

उनले अब सिंगो एमाले पङ्तिले संयम र धैर्यताका साथ अघि बढेर मुलुकको संवैधानिक तथा लोकतान्त्रिक प्रक्रियालाई पुनर्स्थापित गर्न अगुवाई गर्नुपर्ने पनि बताएका छन् ।

भट्टराईले महाधिवेशनबाट तेस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित ओलीसहित सबैलाई बधाईसमेत दिएका छन् । भट्टराई संस्थापनइतर समूहबाट उपमहासचिव जितेका नेता हुन् । उनले अध्यक्षमा केपी शर्मा ओलीको विकल्प खोजिनुपर्ने मत राख्दै आएका थिए ।