काठमाडौं । नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पार्टीको प्रतिष्ठामा आँच आउने कुरा नगर्न निर्देशन दिएका छन् ।
नवनिर्वाचित एमाले केन्द्रीय कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्दै ओलीले सार्वजनिक सञ्चारमाध्यममा पार्टीमाथि आँच पुग्ने कुरा नगर्न निर्देशन दिए । उनले अनुशासनमा बस्न र सामाजिक अनुशासन कायम गर्न पार्टीका नेतालाई निर्देशन दिए ।
एमाले लोकतान्त्रिक पार्टी भएकाले आफ्ना कुरा राख्न पाउने भए पनि ती कुरा नीति निर्णय भन्दाविपरीत सामूहिक हित र राष्ट्रिय स्वार्थबाहेक नबोल्न ओलीले निर्देशन दिए । उनले त्यसलाई स्वतन्त्रता नभनिने बताए ।
अध्यक्ष ओलीले सम्बोधन गर्दै गर्दा एकजना नेताको मोबाइल फोन बजेपछि ओलीले आपत्ति जनाए । उनले भने, ‘म अनुशासनकै कुरा गरिरहेको छु । बैठकभित्र मोबाइल बज्नुहुँदैन ।’
त्यस्तै ओलीले एमालेमा आलोचनात्मक हराएकाहरू बस्छन् भनेर बाहिर हल्ला फैलाइएको पनि बताए । ‘आलोचनात्मक चेत हराएका झोलेहरू एमालेमा बस्छन् । खोई बोलेका? भन्छन् । केपी ओलीले विरोध गर्नुपर्ने काम नै गर्दैनन् त के प्रश्न गर्ने ?’ ओलीले भने, ‘हामी यस्तो कुराबाट प्रभावित हुनुहुँदैन ।’
उनले चुनावमा लड्दा प्यानल बने पनि अहिले निर्वाचित भइसकेपछि प्यानल र गुट एमालेमा नभएको पनि बताए ।
ओलीले एमालेमा प्यानल नभएको घोषणा गरे । ‘महाधिवेशनमा प्यानल बनाएर प्रतिस्पर्धा पनि भयो । तर अब केन्द्रीय कमिटीमा प्यानल छैन । यो देश हाँक्ने केन्द्रीय कमिटी हो,’ ओलीले भने, ‘यसैले एमालेमा अब कुनै प्यानल छैन ।’
अध्यक्ष ओलीले यो पार्टीभित्र बस्न अनुशासन प्रमुख रहेको बताए । ‘पार्टीमा आँच आउने कुनै पनि काम नहुन् । हामी सुदृढ अनुशासनमा बस्छौँ । अनुशासन मानव हुनुको नाताले, सामाजिक प्राणी हुनुको नाताले अनिवार्य छ । मानव जातिको झुन्डहरू समाजमा बस्न थालेपछि अनुशासनमा बाँधिन थालेको हो। अनुशासनमा बाँधिएन भने त्यो समाज हुँदैन,’ उनले भने, ‘राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउनेजस्तो नक्कली आवरणको पार्टी होइन । यस्तो पार्टीमा दृढ विश्वास चाहिन्छ । हाम्रो पार्टी लोकतान्त्रिक हो ।’


प्रतिक्रिया