काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले सप्तगण्डकी बहुउद्देश्यीय जलाशययुक्त जलविद्युत् आयोजना निर्माण गर्नुपपर्ने बताएका छन् ।
चितवन उद्योग वाणिज्य सङ्घले आज नारायणघाटमा आयाेजना गरेको कार्यक्रममा मन्त्री घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा हुने कटान, चितवन, नवलपरासी क्षेत्रको समग्र विकासका लागि २२५ मेगावाटको सप्तगण्डकी बहुउद्देश्यीय जलाशययुक्त जलविद्युत् आयोजना निर्माणलाई अगाडि बढाउनुपर्ने बताए ।
धार्मिक रूपमा महत्त्वपूर्ण देवघाट क्षेत्रलाई नडुबाउने गरी सप्तगण्डकी जलविद्युत् आयोजना बनाएर त्यसभन्दा माथिल्लो तटीय क्षेत्रमा बन्ने बूढीगण्डकी, तनहुँजस्ता जलाशययुक्त आयोजनाको लाभ लिनुपर्ने उनको भनाइ छ ।
चितवन, तनहुँ र नवलपरासीको सिमानामा बग्ने नारायणी नदीमा सप्तगण्डकी बहुउद्देश्यीय जलविद्युत् आयोजनाको सम्भाव्यता अध्ययन जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहायतामा सन् १९८५ मा भएको थियो ।
आयोजनाको बाँध त्रिशूली र कालीगण्डकीको सङ्गमस्थल देवघाटभन्दा झन्डै एक किलोमिटर तल बन्नेछ । तर अध्ययनबाट धार्मिक महत्त्वको देवघाटधाम डुब्ने देखिएको थियो । तर बाँधको उचाइ घटाएर धाममा पुग्ने क्षतिलाई न्यूनीकरण गरी आयोजना अगाडि बढाउन सकिने घिसिङले बताएका छन् ।
देवघाटमा जलाशय बनाएर विद्युत् उत्पादन र पानीबाट चितवन र नवलपरासीमा सयौं हेक्टरमा सिँचाइ सुविधा उपलब्ध गराउन सकिने अवस्था छ । मन्त्री घिसिङले विकास निर्माणका कामलाई प्राथमिकता नदिने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द गर्ने पनि दोहोर्याए ।


प्रतिक्रिया