मधेशको सभामुखमा जसपा नेपालका यादव निर्वाचित

मधेशको सभामुखमा जसपा नेपालका यादव निर्वाचित



जनकपुरधाम । मधेश प्रदेश सभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित भएका छन् ।

आज मधेश प्रदेशसभा बैठकमा भएको मत विभाजन मार्फत निर्वाचनमा सातदलीय गठबन्धनका तर्फबाट उम्मेदवार यादवले ७२ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । विपक्षमा भने २४ मत परेको छ । आज सदनमा जम्मा ९६ सांसद उपस्थित थिए ।

सभामुखको आशनमा बसेकी उपसभामुख बबिता राउत इशरले यादव निर्वाचित भएको घोषणा गरेकी छिन् ।

सुरुमै रामअशिष यादवलाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्तावमा बहमुतले निर्वाचित भएकोमा सभामुखका अर्का प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार त्रिलोकी प्रसाद यादवको प्रस्ताव अघि भने बढाइएन ।

सभामुखमा निर्वाचित यादव धनुषा निर्वाचन क्षेत्र नं. २ (ख) बाट दोस्रो पटक प्रत्यक्ष निर्वाचित सांसद हुन् । उनी जसपा नेपालका प्रमुख सचेतकको जिम्मेवारी समेत सम्हाल्दै आएका छन् ।