काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टीको कार्यकारी (सभापति) जिम्मेवारीमा फर्किएका छन् ।
आइतबार बसेको पार्टीको ६४ औँ केन्द्रीय कमिटीको बैठकमा पार्टीका कार्यवाहक सभापति डिपी अर्यालले आफूले समाल्दै आएको कार्यकारी सभापतिको जिम्मेवारी लामिछानेलाई हस्तान्तरण गरेका थिए ।
रास्वपा प्रवक्ता मनीष झाका अनुसार पार्टी सभापति लामिछानेको अध्यक्षतामा सम्पन्न केन्द्रीय कमिटीको बैठकमा मुलुकको पछिल्लो अवस्था, नयाँ तथा वैकल्पिक शक्तिबिचको सहकार्य तथा पार्टीका आन्तरिक गतिविधि र भावी योजनाबारे समेत छलफल भएको छ ।
बैठकमा सभापति लामिछानेले वैकल्पिक शक्तिसँग सहकार्य गर्ने तर त्यो चुनावकेन्द्रितभन्दा समग्र मुलुकको हितका लागि हुनुपर्ने बताए । पार्टीभित्र आन्तरिक लोकतन्त्रलाई थप मजबुत बनाउँदै राजनीतिक र व्यक्तिगत जीवनमा समेत अनुशासन अत्यन्तै महत्वपूर्ण हुने हुँदा कसैप्रति आक्षेप, आग्रह, पूर्वाग्रहपूर्ण भाषाशैलीलाई निरुत्साहित गर्नुपर्नेमा लामिछानेले विशेष जोड दिएको प्रवक्ता झाले बताए ।
आइतबार नै सभापति लामिछानेले प्रधानमन्त्री सुशीला कार्कीसँग बालुवाटारमा महत्त्वपूर्ण भेटवार्ता गरेका छन् । सरकारको नेतृत्व सम्हालेपछि प्रधानमन्त्री कार्कीसँग लामिछानेको यो पहिलो औपचारिक भेट हो ।
पार्टीका नेताहरू डीपी अर्याल र डा. स्वर्णिम वाग्ले, नेता शिशिर खनाल र सोविता गौतमसहित बालुवाटार पुगेका लामिछानेसहितको टोलीले तोकिएको समयमै निर्वाचन हुनुपर्नेमा जोड दिए ।
उनीहरूले जेनजीआन्दोलनका क्रममा उठेका मागहरू सम्बोधन गर्न आग्रह गरे । साथै, नेताहरूले संघीय निर्वाचनमा मतदान तथा उमेदवारीको उमेरहद घटाउन प्रक्रिया अगाडि बढाउन आग्रह गरेका छन् ।
भेटमा समसामयिक राजनीतिबाहेक लामिछानेमाथि लगाइएका मुद्दा र राजनीतिक प्रतिशोधको विषयमा पनि छलफल भएको नेता सोविता गौतमले जानकारी दिइन् । उनले अदालती प्रक्रियामा आफूहरूको हस्तक्षेप नहुने तर विगतको सरकारले बदनियतपूर्वक गरेको अधिकारको दुरुपयोग सच्याउनुपर्ने कुरा प्रधानमन्त्रीलाई बताइएको जानकारी दिइन् ।


प्रतिक्रिया