काठमाडौं । अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) ले नयाँ फ्रेन्चाइजमा आधारित टी–२० लिग ‘अफगानिस्तान प्रिमियर लिग’ को घोषणा गरेको छ ।
पाँच वटा टोली सहभागी हुने प्रतियोगिताको पहिलो संस्करण आउँदो वर्षको अक्टोबरतिर संयुक्त अरब इमिरेट्स (यूएई) मा शुरू गर्ने एसीबीको योजना छ ।
अफगानिस्तान क्रिकेट बोर्डले सन् २०१८ को शुरूमा पनि अफगानिस्तान प्रिमियर लिग पनि शुरू गरेको र त्यस वर्षको अन्त्यमा पाँच वटा टोलीबीच त्यो प्रतियोगिताको एउटा मात्र संस्करण भएको थियो ।
क्रिस गेल, ब्रेन्डन म्याकुलम, शाहिद अफ्रिदी जस्ता चर्चित खेलाडीहरूले त्यो संस्करणमा खेलेका थिए, तर भुक्तानी समस्या र लिगको भविष्यको बारेमा चिन्ता देखा पर्न थालेपछि प्रतियोगिता बन्द हुन पुगेको थियो ।
यही नामको नयाँ लिगको ड्राफ्ट २०२६ को जुन–जुलाईतिर हुने सम्भावना छ । उद्घाटन संस्करणमा पाँच वटा शहरको नाममा आधारित फ्रेन्चाइजीहरू समावेश हुने एसीबीले प्रेस विज्ञिप्तमार्फत जानकारी गराएको छ ।
अफगानिस्तानले हरेक वर्ष जुलाई–अगस्ट विन्डोमा पाँच घरेलु टोलीबीच आफ्नो घरेलु टी–२० लिग ‘शपागीजा क्रिकेट लिग’ लाई पनि निरन्तरता दिनेछ ।


प्रतिक्रिया