दलहरुलाई प्रधानमन्त्रीले भनिन्- मेरो गोरुको बाह्रै टक्का भनेर हुँदैन

दलहरुलाई प्रधानमन्त्रीले भनिन्- मेरो गोरुको बाह्रै टक्का भनेर हुँदैन



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सबै दलहरू चुनावको पक्षमा रहेको बताएकी छन् ।

सोमबार सर्वपक्षीय बैठकमा सबै दलका नेता, जेनजी प्रतिनिधिहरूको कुरा सुनेपछि उनले निर्वाचनलाई परिवर्तनको मार्गको रूपमा लिनुपर्ने बताइन् ।

‘निर्वाचन भनेको हाम्रो लागि कुनै संकटको घडी होइन, खुशीको घडी हो । परिवर्तनको मार्ग हो । आजसम्म नेपालमा केही परिवर्तन आएका छन् भने निर्वाचनले नै हौ,’ उनले भनिन् ।

उनले मेरो गोरुको बाह्रै टक्का भनेर कोही पनि सफल नहुने भन्दै जनताको मागअनुसार दलहरू सच्चिनुपर्ने बताइन् ।

उनले भनिन्, ‘कुन दललाई के कुरामा चित्त बुझेको छैन, त्यो आआफ्नो कुरा हो । तर यो देशको सर्वेसर्वा भनेको जनता नै हो । राजनीतिक दल भनेको जनताको सेवक हुन्, अहिले जनताको माग के छ ? जनतामा कस्तो प्रभाव परेको छ भन्ने कुरामा ध्यान दिनुपर्छ ।’

उनले अहिलेको चुनौतीको रुपमा युवा वर्गलाई फ्रन्टमा ल्याउनुपर्ने बताइन् ।

‘अचानक यो परिस्थिति आयो । भदौ २३ र २४ गते सोचसमचभन्दा बाहिरको घटना जे घट्यो । जुन हामी परिकल्पना समेत गरेका थिएनौं । सिंगो राष्ट्रले एउटा परिवर्तनको महसुस गर्‍यो,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘अहिलेको चुनौती भनेको युवा वर्गलाई कसरी फ्रन्ट रोमा ल्याउने, उनीहरूको नेतृत्वमा मुलुकलाई कसरी अघि बढाउने भन्ने भावना आयो ।