काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले अन्तरिम सरकारसँगको १० बुँदे सम्झौता पक्षधर जेनजीहरूले नै निर्वाचन हुन नदिने घोषणा गरेको भन्दै निर्वाचन हुनेमा आशंका रहेको बताएका छन् ।
“प्रधानमन्त्रीले जसलाई जेठो छोरो भन्नुभयो, त्यही जेठो छोरोले चुनाव हुन दिन्नौँ भनेपछि हामीले के भन्नु ? हाम्रो के लाग्छ । केही न केही त छ । आशंका झन बलियो बनायो,” मंगलबार कांग्रेस पार्टी कार्यालयको निरीक्षण एवं वार्ताका लागि सानेपा पुगेको सरकारद्वारा गठित राजनीतिक वार्ता समितिसँगको छलफलमा गुरुङले भने ।
जेनजी अगुवा सुधन गुरुङले एक टेलिभिजन अन्तर्वार्ताका क्रममा निर्वाचन हुन नदिने भनेका उल्लेख गर्दै गुरुङले यसले सरकार निर्वाचन गराउन लागि परेको भन्नेमा आशंका उब्जाएको बताए ।
गुरुङले फागुन २१ मा हुने भनिएको निर्वाचनलाई अर्जुनदृष्टिमा राख्नुपर्ने बताए । सबै राजनीतिक दलहरू उपस्थित हुने र सहभागी बन्ने स्थिति सिर्जना गर्नुपर्ने उनको भनाइ छ । “१० बुँदे सम्झौता गर्नेहरूले नै सम्झौताको मसी सुक्न नपाउँदै निर्वाचन हुन दिँदैनौँ भनिरहेका छन् । सम्झौता त यहाँहरूकै अघि च्यातिएको छ,” गुरुङले भने, “नच्यात्ने पक्षले चुनाव हुन दिन्नौँ भनिसके । त्यसप्रति कतिको गम्भीर हुनुहुन्छ, हामी ध्यानपूर्वक हेरिरहेका छौँ ।”
निषेधको राजनीति गरेर र निषेधको भावनाबाट निर्वाचन हुन नसक्ने गुरुङको भनाइ थियो । सरकार निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित ढंगबाट सम्पन्न गर्नतर्फ नलागेको आरोप उनले लगाए ।
पुराना वा नयाँ पार्टीको नाममा कुनै पनि पार्टीलाई यात्रामा रोकेर निर्वाचन सम्पन्न हुन नसक्ने गुरुङले बताए । कोही पनि मतदाताको मताधिकार नखोसियोस् भन्नेमा कांग्रेस दृढ रहेको उनको भनाइ छ ।
उपसभापति गुरुङले नेपाली कांग्रेस निर्वाचनबाट नभाग्ने बताए । उनले सरकारले निर्वाचनको वातावरण निर्माण गर्न अझै नसकेको उल्लेख गरे ।


प्रतिक्रिया