राष्ट्रपति, प्रधानमन्त्री र शीर्ष नेताबिच निर्वाचन सफल बनाउने समझदारी

राष्ट्रपति, प्रधानमन्त्री र शीर्ष नेताबिच निर्वाचन सफल बनाउने समझदारी

विस्तृत छलफल बालुवाटारमा गर्ने



काठमाडौं । फागुन २१ गते हुने निर्वाचन सम्पन्न गर्नका लागि राष्ट्रपति, प्रधानमन्त्री र शीर्ष नेताबिच वातावरण बनाउने समझदारी भएको छ ।

राष्ट्रपति कार्यलय शीतल निवासमा मंगलबार अपरान्ह प्रधानमन्त्री सुशीला कार्की, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलमा यस्तो सहमति भएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन् ।

उनका अनुसार चुनावको वातावरण बनाउन विस्तृत छलफल बालुवाटारमा गर्ने समझदारी पनि बनेको छ ।

‘देशको परिस्थिति गम्भीर र संवेदनशील भएको अवस्थामा निकास दिनका लागि चुनावको घोषणा भएकोले यो गम्भीरतालाई ध्यानमा राखेर निर्वाचन सफल बनाउन लाग्नु सबैको एक मात्र दायित्व रहेकाे राष्ट्रपति पौडेलले छलफलमा भनेका थिए ।

शीतलनिवासबाट प्रधानमन्त्री कार्की बाहिरिएपछि राष्ट्रपतिसँग ओली, देउवा र प्रचण्ड पुन: छलफलमा बसेका थिए ।

प्रधानमन्त्रीसहितको छलफल साढे २ घण्टा भएको थियो दिउँसो साढे ३ बजेबाट उनीहरू छलफलमा जुटेका थिए ।