एकै ओभरमा ५ विकेट लिने पहिलाे खेलाडी बने इन्डाेनेशियाका गिड प्रियन्दना

एकै ओभरमा ५ विकेट लिने पहिलाे खेलाडी बने इन्डाेनेशियाका गिड प्रियन्दना



काठमाडौं । इन्डोनेशियाका गिड प्रियन्दना टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक ओभरमा पाँच विकेट लिने विश्वको पहिलो बलर बनेका छन् । बालीमा आज कम्बोडियासँगको खेलमा २८ वर्षीय प्रियान्दनाले यो उपलब्धि हासिल गरेका हुन् ।

इन्डोनेशियाले दिएको १ सय ६८ रन पछ्याएको कम्बोडियाले १५ ओभरको खेल सकिँदा ५ विकेट गुमाएर १ सय ६ रन बनाएको थियो । त्यसपछि बलिङमा आएका इन्डोनेशियाका गीड प्रियान्दनाले १६औं ओभरको लगातार तीन बलमा विकेट लिएर ह्याट्रिक पूरा गरे । त्यसपछि उनले एक बल डट राखे र अर्काे बलमा फेरि विकेट लिए । त्यसपछि एक वाइड दिएका उनले अर्काे विकेट लिएर कम्बोडियालाई १ सय ७ रनमा रोके । यो खेल इन्डोनेशियाले ६० रनले जित्यो । कम्बोडियाका कप्तान लुक्मान बटले सबैभन्दा धेरै ४८ रन बनाए ।

यसअघि टस हारेर ब्याटिङ गरेको इन्डोनेशियाले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६७ रन बनायो । इन्डोनेशियाका धर्म केसुमाले नटआउट १ सय १० रन बनाए । कम्बोडियाका शाह अबरार हुसेन र एटिएन बेउक्सले २/२ विकेट लिए ।