जेन–जी आन्दोलनमा ८४ अर्बको नोक्सान

जेन–जी आन्दोलनमा ८४ अर्बको नोक्सान



काठमाडौं । जेन–जी आन्दोलनका क्रममा भएको तोडफोड र आगलागीमा परि २ हजार २ सय भौतिक संरचनामा क्षति हुँदा ८४ अर्बको नोक्सानी भएको छ ।

शहरी विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले मन्त्रालयमा पत्रकारसँग कुरा गर्दै आन्दोलनमा क्षति भएका भवनहरूको निर्माण दुई वर्षभित्र पूरा गर्ने लक्ष्यका साथ काम भइरहेको जानकारी दिए ।

मन्त्री कुलमान घिसिङसहित पत्रकार सम्मेलनमा सहभागी भएका सचिव सिग्देलले सरकारले क्षति पुगेका भवनको तीन भाग लगाएर काम अघि बढाएको बताए । हरियो, पहेँलो र रातो स्टिकर टाँसेर भवनको पुनर्निर्माणका काम अघि बढेको हो ।

उनले क्षतिको विवरणको आधारमा तीन भाग लगाउने कार्य सम्पन्न भएको र पुनर्निर्माणका लागी नक्सांकनको काम धमाधम अघि बढेको जानकारी दिए । हाल सङ्घीय मन्त्रालय अन्तर्गतको क्षेत्राधिकारमा रहेका ६ सय वटा भवनमध्ये २ सय ५० वटा भवन गम्भीर प्रकृतिको क्षति पुगेको छ ।

ती भवनको मर्मतका लागि गहिरो अध्ययन जरुरी भएरै इन्जिनियरले रेट्रोफिट वा पुनर्निर्माण के हुनसक्छ त्यसको काम अघि बढेको जनाइएको छ । सचिव सिग्देलले माघ दोस्रो हप्ताभित्र कति लागत लाग्छ भन्ने कुरा एकिनसाथ भन्न सकिने बताएका छन् ।

उनले सर्वोच्च अदालत, स्वास्थ्य मन्त्रालय, सिंहदरबारको प्रधानमन्त्री कार्यालय र बानेश्वरस्थित संसद भवनबाहेकका भवनहरू दुई वर्षभित्र बन्ने लक्ष्यका साथ काम भइरहेको बताए ।