सरकारले निर्वाचनकाे वातावरण बनाओस् : केपी ओली

सरकारले निर्वाचनकाे वातावरण बनाओस् : केपी ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजीका नाममा सरकारले तर्साउने गरेको बताएका छन् । स्वयंसेवकलाई धन्यवाद दिन बिहीबार आयोजित एक कार्यक्रममा ओलीले सरकारले त्रास खडा गर्ने मिडिया ट्रायल गर्ने गरेको बताए ।

उनले भने- ‘बच्चाबच्चीलाई त्रास देखाए जस्तै लौ जेन-जी आयो जेनजीले जेन-जीले यसो गर्छन् उसो गर्छन् भनेर त्रास देखाएका छन् । नवयुवाहरूको नाम फेरेर जेन-जी राखिएको छ । टाठाबाठाले खाएका छन् ।’

चुनावको वातावरण बनाउन सरकारले राष्ट्रपतिको आह्वानमा प्रधानमन्त्रीसहित दलहरुले छलफल गरेको बताए । उनले राष्ट्रपतिको जोड चुनाव गराउनुपर्छ भन्नेमा रहेको बताए पनि चुनावको वातावरण नरहेकोमा ओलीले जोड दिए ।

‘चुनाव विरोधी हामी होइनौं प्रतिगमनविरोधी हौं । सकेसम्म छिटो संसदको उपस्थिति चाहिन्छ तसर्थ हामीले संसद पुन:स्थापनाको माग गरेका हौं’, ओलीले भने । उनले अदालतमा मुद्दा रहेकाले फैसला पर्खिएको बताए ।

‘राष्ट्रपति प्रधानमन्त्रीले चुनाव गराऔँ भन्नु हुन्छ भने ठीक छ हामीले वातावरण बनाउनु भनेका छौँ तर खोई वातावरण ?’, ओलीले प्रश्न गरे, ‘चुनावको वातावरण छैन । नेताहरूलाई बाहिर निस्कन दिँदैनौं । हामीले भनेका छौं र ? त्रासको वातावरण छ । जेन-जीको नाममा डर देखाएको छ ।’