काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी चुनाव नलड्ने घोषणा गरेका छन् ।
बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा शर्माले आगामी चुनावमा आफू उम्मेदवार नहुने घोषणा गरेका हुन् ।
पार्टीले शर्मालाई झापा–१ बाट सर्वसम्मत रुपमा सिफारिस गरेको थियो । उनले आफूलाई सिफारिस गरेकोमा धन्यवाद दिँदै आफू निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका हुन् ।
उनले तीन पटक उम्मेदवार बनिसकेकोले यो पटक आफू उम्मेदवार नहुने बताएका छन् ।
‘गत चुनावमा म आफ्नो क्षेत्रमा सीमित थिएँ, यो पटक देशव्यापी रुपमा पार्टीका उम्मेदवारहरूको साथमा पुग्नेछु,’ उनले भने, ‘मेरो आग्रह छ चुनावमा अनुहार बदलेर जानुपर्छ ।’
उनले समानुपातिकतर्फ उम्मेदवारबारे भने केही खुलाएका छैनन् ।
महामन्त्री शर्माले पार्टी नेतृत्व फेरेर मात्रै चुनावमा जानुपर्ने बैठकमा बताएका छन् ।
महाधिवेशनबारे बोल्दै उनले कार्यतालिका परिमार्जन गरेर तीन तहको अधिवेशन गर्नुपर्ने बताए । वडा र क्षेत्रको अधिवेशन गरेर, पुस २६ मै महाधिवेशन गर्नुपर्ने उनको भनाइ छ ।
फागुन २१ को चुनावको तयारी नपुगेको भन्दै उनले वैशाखमा निर्वाचन गर्न सबैले साथ दिनुपर्ने पनि बताएका छन् ।


प्रतिक्रिया