अब विशेष महाधिवेशन टार्न सकिँदैन : कांग्रेस महामन्त्रीद्वय

अब विशेष महाधिवेशन टार्न सकिँदैन : कांग्रेस महामन्त्रीद्वय



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्व प्रकाश शर्माले विशेष महाधिवेशन बाध्यता भएको बताएका छन् । उनिहरुले अब विशेष महाधिवेशन टार्न नसकिने दाबी गरेका छन् ।

शुक्रबार महामन्त्री थापाले पक्षधरहरूको ज्ञापनपत्र बुझ्दै विशेष महाधिवेशन ऐक्षिक विषय नभएको बताए । ‘विशेष महाधिवेशनको प्रस्ताव दर्ता हुँदा नै मंसिरभित्र नियमित महाधिवेशन गरेमा विशेष महाधिवेशनको प्रस्ताव स्वतः निस्क्रिय हुने भनिएको थियो,’ थापाले भने, ‘मंसिर मसान्तबाट हामी पुस मसान्तमा पुग्यौँ । तर, पनि महाधिवेशनको सुनिश्चितता गर्न सकेनौँ । यो ध्यानाकर्षणपत्र प्राप्त भएको छ । महामन्त्रीको बोधार्थ छ । अब यो हाम्रो जिम्मेवारी हो ।’

महामन्त्री थापाले पार्टी विधानभन्दा माथि कोही पनि नभएको भन्दै विधानको व्यवस्थाबमोजिम विशेष महाधिवेशनमा जानुपर्ने अवस्था आएको बताए ।

‘पुस मसान्तसम्ममा विशेष महाधिवेशन गर्ने विषय हाम्रो ऐच्छिक विषय होइन । अनिवार्य विषय रह्यो, किनभने पुस मसान्तमा नियमित महाधिवेशन नभए पश्चात् विशेष महाधिवेशन हुन्छ,’ थापाले भने, “हामीले यसलाई सम्बोधन गर्छौं र गर्नुपर्छ ।’

विशेष महाधिवेशन पक्षधरहरूका विषयमा बोल्न महामन्त्री थापासँगै अर्का महामन्त्री विश्व प्रकाश शर्मा पनि बैठकबाट निस्किएका थिए । उनले पनि महामन्त्री थापाले भनेजस्तै विशेष महाधिवेशन अब बाध्यता भनेको बताए ।