रवि-बालेन सहमति षड्यन्त्रको दोस्रो चरणको तयारी : शंकर पोखरेल

रवि-बालेन सहमति षड्यन्त्रको दोस्रो चरणको तयारी : शंकर पोखरेल



काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले भदौ २३ र २४ गतेको घटनाको योजनाकार र सञ्चालक को थिए भन्ने कुरा क्रमशः सार्वजनिक हुँदै गएको टिप्पणी गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन्द्र शाहबीच सहमति भएकै दिन एमाले महासचिव पोखरेलले यस्ताे बताएका हुन् ।

“भाद्र २३ गते नवयुवाहरूले गरेको शान्तिपूर्ण प्रदर्शनलाई योजनाबद्ध रूपमा मुठभेडमा परिणत गरी केही युवाको हत्या गरियो । त्यसको आडमा भाद्र २४ गते मुलुकको अस्मिता र सामर्थ्य कमजोर बनाउने उद्देश्यले राज्य र लोकतन्त्रका आधारस्तम्भमाथि आक्रमण गरियो,” पोखरेलले फेसबुकमा लेखेका छन्, “यी विध्वंशकारी गतिविधिका योजनाकार र सञ्चालक को थिए भन्ने कुरा क्रमशः सार्वजनिक हुँदै छ ।”

पोखरेलले भदौ २३ र २४ को घटना भूराजनीतिक द्वन्द्वको गोटी बनाएर नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्रको पहिलो चरण भएको पनि दाबी गरेका छन् । अनि दोस्रो चरणको तयारी सुरु भएको उल्लेख गरेका छन् ।

“भाद्र २३ र २४ गतेको घटना भूराजनीतिक द्वन्द्वको गोटी बनाएर नेपाललाई युक्रेनजस्तै अस्थिर बनाउने षड्यन्त्रको पहिलो चरण थियो,” उनले लेखेका छन्, “अब सोही षड्यन्त्रको दोस्रो चरणको तयारी पनि सुरु हुँदै छ । यस्तो गम्भीर अवस्थामा संविधान र लोकतन्त्रका पक्षधर देशभक्त शक्तिहरू सचेत र एकजुट हुन आवश्यक छ । नेपाल राष्ट्रलाई भूराजनीतिक द्वन्द्वको गोटी बन्नबाट जोगाउन सबैले जिम्मेवार र सकृय भूमिका खेल्नुपर्छ,” उनले लेखेका छन् ।