नगरपालिका चलाउन नसक्नेले देश चलाउँछ भन्ने भ्रम पाल्नु हुन्न : महेश बस्नेत

नगरपालिका चलाउन नसक्नेले देश चलाउँछ भन्ने भ्रम पाल्नु हुन्न : महेश बस्नेत



काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले नगरपालिका चलाउन नसक्ने पात्रले देश चलाउँछ भन्ने भ्रम पाल्न नहुने बताएका छन् ।

रवि-बालेन सहमतिपछि आइतबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बस्नेतले काण्डै काण्डमा मुछिएका रविसँगको गठबन्धनले बालेनको स्वतन्त्र छवि पनि तीव्र गतिमा घट्ने बताएका छन् ।

‘बालेनको लोकप्रियता उनको स्वतन्त्र छविसँग गाँसिएको थियो । रविजस्तो विवादित पात्रको नेतृत्व रहेको दलसँग जोडिनासाथ त्यो आकर्षण तीव्र गतिमा घट्ने देखिन्छ,’ बस्नेतले लेखेका छन्, ‘काम गर्ने कालु, मकै खाने भालु भनेजस्तै रास्वपाको राजनीति पुराना दललाई सराप्ने र सत्ताको भर्‍याङ चढ्ने बाहेक स्पष्ट दिशा र भिजनमा आधारित नहुँदा जनतासँगको दुरी झन् बढ्दै जाने र जनमत कमजोर हुँदै जाने निश्चितै छ । भदौ २४ गते राज्य र लोकतन्त्रका आधार स्तम्भमाथि आक्रमण गरेर नेपाललाई भूराजनीतिक द्वन्द्वको गोटी बनाएर अस्थिरताको षडयन्त्र रचियाे । यो षडयन्त्रमा बालेन र रविको प्रत्यक्ष-अप्रत्यक्ष भूमिका देखिनु, माओवादी, राजावादी धारहरूको समर्थन देखिनु गम्भीर विषय हो ।’

उनले थप लेखेका छन्, ‘नेपाली राजनीतिमा नयाँ पात्रलाई सधैं आशाका रूपमा बेचिन्छ । गगन आए, जबर्जस्त बासी बनाइए । काण्डै काण्डका नाइके रवि आए, उनी पनि बासी भए । लोकप्रियताको आडमा बालेन आए—तीन वर्षमा नगरपालिका नै फेर्न नसक्ने पात्रले अब देश फेर्छ भन्ने भ्रम पनि सकिन थालेको छ । अनुहार फेरिँदैमा देश फेरिँदैन भन्ने तथ्य बारम्बार प्रमाणित भइसकेको छ ।’

‘अबको चुनावको मुख्य प्रश्न सिंहदरबार, संसद भवन र सर्वोच्च अदालत जलाउने अराजकतालाई रोज्ने कि ती संरचना बनाउने र भत्काउनेमाथि कारबाही गर्ने राजनीति दललाई साथ दिने ? जलाउने धारको नेतृत्व बालेन–रविहरूले गरेकै हुन, संरचना जोगाउने जिम्मेवारी पुराना दलहरूले नै वहन गर्नुपर्ने यथार्थ देखिएको छ ।’

उनले समस्या पुराना दलको अस्तित्व होइन, तिनको कतिपय विकृति हो भन्दै नयाँ दल खोल्नु समाधान होइन भनेका छन् । ‘पुराना दललाई परिमार्जन गर्दै राजनीति सुधार गर्नुपर्छ । रवि र बालेन केन्द्रित व्यक्तिवादी स्वार्थको अभियान दीर्घकालीन सुधारको स्पष्ट खाकाबिना पार लाग्दैन,’ उनले लेखेका छन् ।

‘यस्तो गम्भीर घडीमा संविधान र लोकतन्त्रका पक्षधर शक्तिहरू एकजुट हुनैपर्छ । नत्र नयाँ बोतलमा पुरानै रक्सी पिइरहँदा हामी फेरि फेरि उही भ्रमको सिकार भइरहने छौं ।’