प्रत्यक्ष र समानुपातिक दुवैतर्फ उमेदवार नबन्ने पम्फाको घोषणा

प्रत्यक्ष र समानुपातिक दुवैतर्फ उमेदवार नबन्ने पम्फाको घोषणा



काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीकी नेता पम्फा भुसालले फागुन २१ मा हुने निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ कतै पनि आफू उमेदवार नबन्ने घोषणा गरेकी छिन् ।

भुसालले समाजिक सञ्जालमार्फत भनेकी छिन्, “मलाई प्रत्यक्ष र समानुपातिक उमेदवारका रूपमा ललितपुरसहित देशका विभिन्न क्षेत्रबाट आएको प्रस्तावलाई मैले स्वीकार गरिनँ । प्रस्ताव गर्ने सबै साथीहरूलाई हार्दिक धन्यवाद !”

तत्कालीन माओवादीका तर्फबाट दुईपटक प्रत्यक्ष चुनाव जित्ने आफू एक्ली महिला उमेदवार रहेको पनि उनले उल्लेख गरेकी छिन् ।

“काठमाडौं उपत्यकाजस्तो जटिल निर्वाचन क्षेत्रमा उठेर जित्नु फलाम चिउरा चपाउनुजस्तै हो । म पहिले नै दुईपटक प्रत्यक्ष निर्वाचन जितिसकेको छु र पटकपटक मन्त्री भएर काम गर्ने अवसर पनि पाइसकेको छु । अब त्यो राजनीतिक अनुभव र सिकाइ पार्टीभित्र संस्थागत रूपमा उपयोग गर्नुपर्छ भन्ने मेरो ठम्याइ छ,” उनले लेखेकी छिन् ।

साथै, पार्टीले उठाएका उमेदवारलाई जिताउन सक्रिय भूमिका निर्वाह गर्ने पनि उनको भनाइ छ ।

उनले लेखेकी छिन्, “अहिलेसम्म अवसर नपाएका तर सक्षम, प्रतिबद्ध र ऊर्जाशील युवाहरूलाई प्रत्यक्ष र समानुपातिक दुवै प्रक्रियामा अगाडि ल्याइनुपर्छ भन्ने मेरो स्पष्ट धारणा छ । त्यसैले अपवाद बाहेक यसपटक पहिला अवसर पाइसकेकाहरूले प्रत्यक्ष वा समानुपातिक निर्वाचनमा उमेदवारी नदिनु उपयुक्त हुन्छ भन्ने मेरो मत रहेको छ ।”