सिंहदरबार खरानी बनाउने दुस्साहस नेपालीले गर्न सक्छ भन्ने कल्पना गर्न सक्दिनँ : रमेश लेखक

सिंहदरबार खरानी बनाउने दुस्साहस नेपालीले गर्न सक्छ भन्ने कल्पना गर्न सक्दिनँ : रमेश लेखक



काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकले गत भदौ २४ गते देशमा भएका हिंसात्मक घटना कुनै नेपाली मन भएका व्यक्तिले गर्न नसक्ने बताएका छन् ।

उनले सोमबार भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगसमक्ष प्रस्तुत गरेको लिखित धारणामा यस्तो बताएका हुन् ।

“मेरो राजीनामा पछि भदौ २४ गतेका दिन जेजस्ता हिंसात्मक एवं राष्ट्रिय अस्तित्व, स्वाभिमान र लोकतन्त्रविरुद्धका घटना भए, ती कुनै देशभक्त नेपालीले कल्पना गर्न सक्ने कुरा थिएनन् । राष्ट्रका प्रमुख निकायहरू सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवन, राष्ट्रपति भवनसहित राज्यका तीनै प्रमुख अंग कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका जलाएर खरानी बनाउने दुस्साहस कुनै नेपाली मनले गर्न सक्छ भन्ने म कल्पना गर्न सक्दिनँ,” उनले भनेका छन् ।

लोकतन्त्रमा शक्ति सन्तुलन र पृथकीकरणको सिद्धान्तका प्रतिनिधि संस्थामाथिको आक्रमण जेनजी पुस्ताको सोच र योजनाभन्दा बिल्कुल बाहिरको विषय भएको उनको दाबी छ ।

“यो नियोजित षड्यन्त्र नै थियो । यो राष्ट्र र लोकतन्त्र माथिको नियोजित आक्रमण हो भन्ने मेरो ठम्याइ छ,” पूर्वगृहमन्त्री लेखकले भनेका छन् ।

गृह मन्त्रालयको राजनीतिक नेतृत्वमा रहेको नाताले त्यस दुःखद घटनाबाट आफू अत्यन्त मर्माहत भएको समेत बताएका छन् । ठूलो पीडाबोध भएकाले देशको गृहमन्त्रीको पदमा रहेको व्यक्तिले पदीय नैतिक जिम्मेवारी बोक्नुपर्छ भन्ने दृढ संकल्पका साथ नैतिकताका आधारमा तत्काल घटनाको नैतिक जिम्मेवारी लिई राजीनामा गरेको तर्क उनले राखेका छन् ।