काठमाडौं । आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य चुनावको समानुपातिकतर्फ ६४ दलले बन्दसूची पेश गरेका छन् ।
निर्वाचन आयोगको विवरणअनुसार कांग्रेस, एमाले, नेकपा, रास्वपासहित २२ वटा दलले समानुपातिकतर्फको सबै अर्थात् १ सय १० सिटका लागि उम्मेदवारी दर्ता गराएका छन् । अरू बाँकीले न्यूनतम ११ देखि एकसय जनासम्मको बन्दसूची पेश गरेका छन् ।
बन्दसूची पेश गर्ने पहिलो दल नेपाल मजदुर किसान पार्टी (नेमकिपा) रहेको छ भने अन्तिम दलमा नेपाली कांग्रेस छ । निर्वाचन आयोगको समानुपातिक निर्वाचन प्रणालीको निर्वाचन अधिकृतको कार्यालयमा रातभर राजनीतिक दलहरूलाई उम्मेदवारको बन्दसूची पेश गर्न भ्याइनभ्याइ भयो ।
एक सयवटा राजनीतिक दलले ९३ चुनाव चिह्नमार्फत् समानुपातिक प्रणालीतर्फको चुनावमा जान निर्वाचन आयोगले यसअघि स्वीकृति दिएको थियो । आयोगले सार्वजनिक गरेको निर्वाचन तालिका अनुसार समानुपातिकतर्फ हिजो बन्दसूची पेस गर्ने अन्तिम समय रहेकोमा रातभर नै यस सम्बन्धी काम भएको छ ।


प्रतिक्रिया