काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आवश्यक वातावरण बनाउन गर्न नसकेको टिप्पणी गरेका छन् ।
मंगलबार मोरङ समाज काठमाडौँको २६औँ वार्षिक साधारण सभालाई काठमाडौँमा सम्बोधन गर्दै उनले मुलुकमा निर्वाचन हुने अवस्था बने–नबनेको विषय गम्भीर प्रश्नको रूपमा उभिएको बताए ।
सबै राजनीतिक दलहरूले समानुपातिकतर्फको सूची बुझाइसके पनि शान्ति-सुरक्षाको अवस्था कमजोर रहेकाले निष्पक्ष र भयरहित ढंगले निर्वाचन सम्पन्न हुन्छ कि हुँदैन ? अहम् प्रश्न रहेको उनको भनाइ छ ।
काँग्रेस निर्वाचनबाट नभाग्ने तर हार्न तयार हुने लोकतान्त्रिक पार्टी भएको भन्दै उनले सरकारले त्यसका लागि वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए ।
उनले निर्वाचनमा शान्ति–सुरक्षा कायम गर्ने मुख्य जिम्मेवारी प्रहरी प्रशासनको भएको उल्लेख गर्दै हाल प्रहरीको मनोबल अत्यन्त खस्किएको बताए ।
सेनाले निर्वाचन गराउँदैन भन्ने कुरा सबैले बुझ्न जरुरी रहेको पनि उनको भनाइ छ । गम्भीर अपराधका कैदीहरू फरार र हजारौँ हातहतियार समेत समाजमा रहेको भन्दै यही अवस्थामा भयरहित वातावरणमा निर्वाचन हुनेमा उनले शंका व्यक्त गरे ।
२३ भदौमा भएको जेन जेड आन्दोलनमाथि प्रहरी दमनको जति निन्दा गरे पनि कम हुने उनले बताए । यद्यपि २४ भदौमा भएको विध्वंसलाई सामान्य रूपमा हेर्न नहुने उनको भनाइ छ । मुख्य प्रशासनिक भवन सिंहदरबारदेखि प्रादेशिक तहका संरचना र नेताका निवासहरू समेत तहसनहस पारिएको उल्लेख गर्दै उनले जेन जेडले मात्रै ६ घण्टामा मुलुकलाई खरानी बनाउन नसक्ने टिप्पणी गरे । यो सब काँग्रेस-एमालेको सरकार हटाउनका लागि मात्र हो त ? उनको प्रश्न छ ।


प्रतिक्रिया