बादलकाे प्रस्ताव- एमाले र कांग्रेस मिलेर चुनाव लड्नुपर्छ

बादलकाे प्रस्ताव- एमाले र कांग्रेस मिलेर चुनाव लड्नुपर्छ



काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष राम बहादुर थापा बादलले आगामी निर्वाचनमा एमाले र कांग्रेस मिलेर जानुपर्ने प्रस्ताव राखेका छन् ।

मंगलबार मदन-आश्रित स्मृति प्रतिष्ठानले गरेको एमाले महाधिवेशनको सन्देश र राजनीतिक निकास विचार गोष्ठी कार्यक्रममा बोल्दै उपाध्यक्ष थापाले फागुन २१ गते चुनाव भएको अवस्थामा कांग्रेस र एमाले मिलेर जानुपर्ने बताएका हुन् ।

विगतका समयमा लोकतन्त्र खतरामा पर्दा वामपन्थीको नेतृत्व गरेर एमालेले र लोकतन्त्रवादीको नेतृत्व गरेर कांग्रेसले लड्दै आएको बताउँदै अहिलेको विषम परिस्थितिमा पनि दुई शक्तिहरूले रणनीति बनाउनुपर्ने बताए ।

यसका लागि दुई बाटो रहेको पनि उपाध्यक्ष थापाले बताए । ‘कि नयाँ संसदमा वामपन्थी र लोकतन्त्रवादीहरूको वर्चश्व स्थापित गर्ने वा दुई शक्तिको वर्चश्व रहेको पुरानै संसद पुनर्स्थापना गरेर हामी फेरि लोकतन्त्रलाई स्थापित गर्न सक्छौं,’ उनले भने ।

चुनाव भएको खण्डमा नयाँ संसदमा पनि वामपन्थी शक्ति र लोकतन्त्रवादी शक्तिले ‘डिप स्टेट’ वादीलाई परास्त गर्न रणनीति बनाउनुपर्ने उनले बताए ।

उनले भने, ‘१६५ निर्वाचन क्षेत्र लोकतन्त्र पुनर्स्थापनाका लागि १६५ मोर्चा हो । आधामा वामपन्थी र आधामा लोकतन्त्रवादी विजयी हुने रणनीति बनाऔं । ११० समानुपातिकबाट आधा वामपन्थी र आधा लोकतन्त्रवादी आउने रणनीति बनाऔं ।’