कुखुरा, बाख्रा र स्यालको मोर्चाले बाघको सिकार गर्न सक्दैन : ओली

कुखुरा, बाख्रा र स्यालको मोर्चाले बाघको सिकार गर्न सक्दैन : ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रवि लामिछाने, बालेन साह र कुलमान घिसिङको राजनीतिक सहकार्यप्रति व्यंग्य गरेका छन् ।

उनले त्यसलाई जंगलमा बाघको सिकार गर्न ‘कुखुरा, बाख्रा र स्याल’ ले बनाएको मोर्चाको संज्ञा दिएका हुन् । ‘कुखुरा, बाख्रा र स्यालको मोर्चाले बाघको सिकार गर्न सक्दैन,’ अध्यक्ष ओलीले मदन-आश्रित स्मृति प्रतिष्ठानले मंगलबार आयोजना गरेको ‘एमाले महाधिवेशनको सन्देश र राजनीतिक निकास’ विषयक विचार गोष्ठीमा भने ।

उनले एमालेलाई परास्त गर्न सबै जना मोर्चाबन्दीमा लागेको उल्लेख गरे । ‘एमाले मात्र होइन, कांग्रेस पनि छ,’ उनले भने, ‘कांग्रेस यस्तो पार्टी हो, जसले छेउमा नगएसम्म केही गर्दैन, छेउमा गएपछि गाह्रो पार्छ ।’

एमालेले चुनाव पर्खिरहेको पनि उनले बताएका छन् । ‘देशमा को लोकप्रिय छ भन्ने चर्चा यो निर्वाचनसम्मै रहन्छ । प्रधानमन्त्री बनाइसके मान्छेहरूले, हामी चुनाव पर्खिरहेका छौं । कहिले होला ? फागुन २१ मा होला, वैशाखमा होला, या अर्को मंसिरमा होला, हामी चुनाव पर्खिइहेका छौं,’ उनले भने ।

एमालेले महाधिवेशनबाट पार्टीले धेरै कुराहरूको जबाफ दिएको बताउँदै ओलीले निर्वाचनबाट राष्ट्रिय फैसला पनि दिने बताए ।