कमल थापालाई लिङदेनले भने- पार्टीमा तपाईँको अभाव थियो, रुँदै हिँड्न मिलेन

कमल थापालाई लिङदेनले भने- पार्टीमा तपाईँको अभाव थियो, रुँदै हिँड्न मिलेन



काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनको कमल थापा पार्टीमा नहुँदा आफूलाई सधैँ रिक्तता महसुस भएको बताएका छन् । राप्रपा नेपालसँगको पार्टी एकता समारोहलाई सम्बोधन गर्दै थापा नहुँदा रिक्तता भएपनि आजबाट पूर्ण भएको बताए ।

उनले भने, ‘कमल दाइ नहुँदा अपूर्णजस्तो लाग्थ्यो । उहाँले छाडेर जानुभयो म पार्टीको अध्यक्ष । मैले राेएर हिँड्न पनि नमिल्ने, कमल दाइ नभएर यो पार्टी भएन भन्न पनि मिलेन । उहाँ नभएर पनि चल्छ भन्नुपर्‍यो चलायौँ पनि तर मनमा एक प्रकारको रिक्तता भइरहेको थियो ।’

कमल थापा पार्टीमा फर्किँदा आफू सबैभन्दा धेरै खुसी भएको बताए । उनले पार्टी एक्लैले नभई सबै मिलेर चलाउने बताए ।

लिङ्देनले राप्रपाले उठाउँदै आएको एजेन्डाको लोकप्रियता बढेको दाबी गरेका छन् । उनले देशमा चुनौतीहरू बढ्दै गएको भन्दै आफ्नो पार्टीले अघि सारेका एजेन्डाहरू लोकप्रिय बन्दै गएको बताए ।

‘हाम्रो एजेन्डाको लोकप्रियता र स्वीकार्यता बढेको छ’, अध्यक्ष लिङदेनले भने, ‘तर त्यही ढङ्गले अव पार्टीको स्वीकार्यता पनि बढाउनुपर्ने र विचारसँग सहमत मानिसलाई यहीँ ल्याउनुपर्छ’ राप्रपाले राजसंस्था र हिन्दु राष्ट्रको एजेन्डा अघि सार्दै आएको छ । अध्यक्ष लिङ्देनले सोही कारण सबैले जित्ने निष्कर्ष निकाल्न सबै शक्तिहरूबिच राष्ट्रिय सहमति गरेर मेलमिलापको बाटोमा लानुपर्ने बताए ।

उनले निषेधको राजनीति गर्न नहुने भन्दै कांग्रेसले वीपीलाई साँच्चै मान्ने हो भने मेलमिलापका लागि अगुवाइ गर्न आग्रह समेत गरे । लिङ्देनले भदौमा भएको आन्दोलन अन्त्य नभएको भन्दै अझै ठुलठुला आन्दोलन हुनसक्ने बताए । उनले निर्वाचन आयोगको ध्यानाकर्षण गराउँदै कालोसूची भनेर नाम प्रकाशित गरेकोमा आपत्ति जनाए । आयोगको कामले नै चुनाव भाँड्न लागेको त होइन भनेर प्रश्न उठेको बताए ।